• १९ जेठ २०८२, सोमबार

घोराहीमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न अभियान

blog

घोराही–१ हर्नाेकस्थित सहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको भिआइए जाँच शिविरमा सहभागी महिलाहरू । तस्बिर : लीलाधर वली

घोराही, जेठ ६ गते । दाङको घोराही उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर पहिचान गर्न अभियान सञ्चालन गरेको छ । पछिल्लो समय महिलाहरूमा बढ्दो पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्यालाई उपचार, रोकथाम गर्दै नियन्त्रण गर्नका लागि उपमहानगरपालिकाले अभियान सञ्चालन गरेको हो ।

प्रजनन् रुग्णता कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर ‘भिआइए स्क्रिनिङ’ शिविरको आयोजना गरेर प्रत्येक वडाहरूमा अभियान सञ्चालन भइरहेको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेल बताउनुहुन्छ । उहाँका अनुसार शिविरहरूमा पाठेघरको मुखको क्यान्सरबाट बच्ने सकिने उपाय, रोकथाम तथा उपचारका बारेमा जानकारी दिने गरिएको छ । निःशुल्क रूपमा सञ्चालन गरिएको अभियानले महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्यमा सुधारमा सहयोग गर्ने अपेक्षा गरिएको बताउनुभयो । 

महिलालाई स्वस्थ राख्ने उद्देश्य अनुसार अभियान सञ्चालन गरिएको भन्दै शाखा प्रमुख पौडेलले भन्नुभयो, ‘‘हामीले प्रत्येक वडामा अभियान सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने काम गरिरहेका छौं । परीक्षणका क्रममा रोग देखिए अस्पताल पठाउनेदेखि प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या भएका महिलालाई औषधी दिने गरेका छौं ।’’ अभियानले वर्षौसम्म रोग लुकाएर बसेका महिलाहरुलाई स्वस्थ राख्न सहयोग गर्ने घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी बताउनुहुन्छ ।

महिलाहरु घरमै काममा व्यस्त हुने र प्रजनन् स्वास्थ्य समस्याबारे खुलेर कुरा राख्न नसक्ने हुँदा बढ्दै गएको समस्यालाई मध्यनजर गरेर महिला स्वास्थ्यकर्मीको समूह बनाएर घोराहीका १९ वटै वडामा अभियान सञ्चालन गरिएको उपप्रमुख डिसीले बताउनुभयो । अहिले पनि पाठेघरमा हुने समस्या महिलाहरूले बाहिर भन्न नसक्ने समस्याका कारण बढ्दै गएको उहाँ बताउनुहुन्छ ।

शिविरमा सेवा लिन आएका ५८ जना महिलाहरूको भिआइए स्क्रिनिङ गर्दा दुई जनामा पाठेघरको मुखको क्यान्सरको समस्या देखिएपछि प्रतिष्ठानमा उपचारका लागि जान सुझाव दिएको शाखा प्रमुख पौडेलका बताउनुहुन्छ । शिविरका क्रममा पाठेघर मुखको क्यान्सर परीक्षणसँगै पाठेघर बाहिर सरेको, पाठेघरमा रिंग प्रेसरी राख्नेलगायतका महिलाहरूमा हुने यौन तथा छालासम्बन्धी रोगको पहिचान गरी उपचारसँगै औषधी प्रदान गर्ने गरिएको बताउनुभयो ।

कम उमेरका महिलामा पनि सेतो पानी बग्ने र तल्लो पेट दुख्ने समस्या बढी देखिएको तथा माथिल्लो उमेरका महिलामा अलि जटिल खालका समस्याहरू देखिएको परीक्षणमा खटिनुभएका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख पौडेल बताउनुहुन्छ । अभियानलाई गाउँ बस्तीसम्म पुर्‍याउन पालिकाले प्रयास गरिरहेको भन्दै हरेक महिलाले शरीरको बाहिरी सरसफाइ जस्तै शरीरको भित्री सरसफाइ पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

करिब ढाई वर्षको अवधिमा अभियान सञ्चालन गरेर घोराहीमा १२ हजारभन्दा बढी महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिएको र त्यसक्रममा दुई सय ५० जना महिलाहरूमा क्यान्सरको लक्षण पहिचान गरी उपचार गरिएको शाखा प्रमुख डिसीले बताउनुभयो । उहाँका अनुसार यस वर्ष हालसम्म करिब पाँच हजार पाँच सयभन्दा बढी महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिएको र त्यसक्रममा ३० जनाभन्दा बढी महिलाको पाठेघरमा क्यान्सरको सम्भावना देखिएकाले उपचारका लागि अस्पताल जान सुझाव दिइएको बताउनुभयो । उहाँका अनुसार शिरिवरमा २० वर्षदेखि ५०/५५ वर्ष उमेर समूहका महिलाहरू आउने र परिक्षण गर्ने गरिएको छ ।