हेटौँडा समाचारदाता
हेटौँडा, जेठ ६ गते । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि मकवानपुरमा खोरेत रोगविरुद्ध खोप अभियान थालिएको छ । मकवानपुरका १० वटै स्थानीय तहमा जेठ पहिलो सातादेखि खोरेत रोगविरुद्ध खोप लगाउन थालिएको पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ ।
खोरेतविरुद्ध खोप एक लाख एक हजार पशुलाई लगाउन सुरु गरिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. वज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । “जेठ पहिलो सातादेखि जिल्लाभरि खोरेतविरुद्ध खोप अभियान सुरु गरेका छौँ, जेठ अन्तिम सातासम्म सबैतिर खोप लगाउने काम सकिन्छ,” प्रमुख डा. ठाकुरले भन्नुभयो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा २७ हजार, थाहा नगरपालिकामा पाँच हजार, मनहरीमा ११ हजार नौ सय, बागमतीमा १० हजार, बकैयामा १५ हजार, मकवानपुरगढीमा नौ हजार, भीमफेदीमा तीन हजार, इन्द्रसरोवरमा चार हजार, कैलाशमा दुई हजार र राक्सिराङमा चार हजार पशुलाई खोरेतविरुद्ध खोप लगाइँदै छ । खोप लगाउनका लागि जिल्लाभर ७० जना भ्याक्सिनेटर नियुक्त गरिएको पशु सेवा कार्यालय मकवानपुरका पशु चिकित्सक डा. विजय पौडेलले जानकारी दिनुभयो । खोरेत लागेका पशुलाई ज्वरो आउने, मुख तथा थुन वरिपरि फोका उठ्ने, खुरको कापमा घाउ, खान अरुचि, खान नसक्नु, झोव्रmाउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नुलगायतका लक्षण देखा पर्ने गरेका छन् । खास गरी खोरेत रोग सिधा सम्पर्कबाट, हावामा फैलिएर जनावरको श्वासप्रश्वासमार्फत, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्व्रmमित एनिमल प्रोटिनका स्रोतबाट फैलिने गरेको पशु प्राविधिकको भनाइ छ । पशुमा विषाणुका कारणले लाग्ने महामारी खोरेत अहिलेसम्म सात प्रजातिका भेटिएका छन् ।
पशु सेवा कार्यालय मकवानपुरले गत मङ्सिरमा पनि खोप अभियान सञ्चालन गरेको थियो । पशुको ओसारपसार बढी हुने र रोग फैलने हेटौँडाको रातमाटे र मनहरीको लोथर क्षेत्रलाई बढी प्राथमिकता दिएर खोप अभियान सञ्चालन गरिएको हो । बढी जोखिमयुक्त ठाउँमा छ÷छ महिना र अन्य ठाउँमा वर्षमा एक डोज खोप लगाइने गरिएको छ । जिल्लामा गत आवमा करिब ५५ हजार डोज खोरेतविरुद्धको खोप लगाइएको थियो । पशु सेवा विभागबाट खोरेत रोगविरुद्धको खोप प्राप्त भएको छ भने किसानका घर घरमा पुगेर खोप लगाउने भ्याक्सिनेटरका लागि प्रदेश सरकारले पारिश्रमिक उपलब्ध गराएको छ ।