• ५ जेठ २०८२, सोमबार

मधेशको मौलिक कथामा आधारित फिल्म ‘प्रतिवैरम्’ निर्माण हुने

blog

फिल्म ‘प्रतिवैरम्’को पोस्टर । तस्बिर सौजन्य : निर्माण पक्ष

विजयकुमार साह 

ढल्केबर, जेठ ४ गते । निर्देशक रोशन दासले मधेशको मौलिक संस्कृति, परम्परा र परिवेश झल्काउने फिल्म ‘प्रतिवैरम्’ निर्माण गर्न लागेका छन् । जनकपुरमा फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक दासले मधेशको समाज, संस्कृति र समस्यालाई केन्द्रमा राखेर फिल्म बनाउन लागिएको बताउनुभयो । 

फिल्म ‘प्रतिवैरम्’ मधेशमा मनाइने भाइबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक पर्व सामा–चकेवा लाई कथामा समेटिएको उहाँले जानकारी गराउनुभयो । निर्देशक दासका अनुसार फिल्म पारिवारिक विषयवस्तुमा आधारित हुने छ तर सामाजिक र राजनीतिक पाटोलाई समेत समेट्ने प्रयास गरिएको छ ।  

उहाँले भन्नुभयो, “मधेशको कथामा बनेका धेरै फिल्ममा यहाँको वास्तविक सौन्दर्य र समस्यालाई कमै समेटिएको देखिन्छ । हामीले त्यो कमी महसुस गरेर सामाजिकसँगै राजनीतिक विषयवस्तुलाई पनि फिल्ममा उतार्ने कोसिस गरेका छौं ।”

निर्देशक दासले यस फिल्ममार्फत मधेसको इतिहास, संस्कार र परिवेशलाई नयाँ ढङ्गले प्रस्तुत गर्न खोजिएको बताउनुभयो । उहाँका अनुसार फिल्म ‘प्रतिवैरम्’ मा मुख्य भूमिकामा अभिनेता सम्राट दास रहने छन् । उहाँले यसै फिल्मबाट अभिनय क्षेत्रमा डेब्यु गर्दै हुनुहुन्छ । उहाँसँगै रमेश बुढाथोकी, नवीन श्रेष्ठ, अलिशा बास्कोटा, बिरेन्द्र कुशवाहा, सुिपया शर्मा, र रोनि यादव पनि प्रमुख भूमिकामा देखिने छन्। 

फिल्मको कथावस्तु निर्देशक दास स्वयंले लेख्नुभएको छ । उहाँले यसअघि सामाजिक तथा पारिवारिक वेब सिरिज आरती, गीतिचलचित्र आफ्नै स्वार्थ, आदत, रङ्ग कडाजस्ता निर्माण गर्नुभएको छ । 

‘प्रतिवैरम्’ रेज इन्टरटेनमेन्टको ब्यानरमा किङ्स वाइटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुँदै छ । फिल्म यो वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने योजना रहेको निर्माण पक्षले जनाएको छ ।