गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३ गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताउनुभएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आजको अन्तरविरोधलाई चिरेर सही ढङ्गले निक्र्यौल गर्न जरुरी रहेको बताउनुभयो । कुनै पनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उहाँको भनाइ छ । कम्युनिष्ट पार्टीलाई अझ बढी वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध बनाउनुपर्ने उहाँको सुझाव छ ।
साना—साना राजनीतिक दलहरू खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने खनालले बताउनुभयो । पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, ‘आजको प्रधान अन्तरविरोध के हो ? त्यो कुरालाई सही ढङ्गले निक्र्यौल गर्दै हामीले समाजवादी क्रान्तिलाई सम्पन्न गर्नु पर्ने छ ।’
कम्युनिष्ट आन्दोलनभित्र प्रकट भएका अवसरवादी चिन्तनहरु खासगरी यतिबेला दक्षिणपन्थी अवसरवादी चिन्तनहरूलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रूपान्तरण अघि बढाउनुपर्छ ।’
पूर्व प्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताउनुभयो । दक्षिणपन्थी अवसरवादी चिन्तनहरूलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रूपान्तरण अघि बढाउनुपर्ने बताउनुभयो ।