• २ जेठ २०८२, शुक्रबार

‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा वैश्विक साझेदारी आवश्यक’

blog

परराष्ट्रसचिव अमृतबहादुर राई सगरमाथा संवादका उद्घाटन सत्रपछि पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ २ गते । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वैश्विक साझेदारी आवश्यक रहेको नेताहरूले बताएका छन् । शुक्रबारबाट सुरु भएको सगरमाथा संवाद कार्यक्रममा देशको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका प्रतिनिधिहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वैश्विक साझेदारी आवश्यक रहेको बताएका हुन् । जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दामा भइरहेका छलफलमा हिमालको मुद्दा ओझेलमा पारिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सगरमाथा संवादका क्रममा बोल्नुहुँदै वक्ताहरूले हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे बहस जरुरी रहेको बताए । उद्घाटन सत्रपछिको पत्रकार सम्मेलनमा बोल्नुहुँदै परराष्ट्रसचिव अमृतबहादुर राईले वक्ताहरूले जलवायु परिवर्तनसम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरूमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेको जानकारी दिनुभयो ।

सगरमाथा संवादका क्रममा अहिलेसम्म १९ वटा मन्तव्यहरु प्रस्तुत भएको बतउनुभयो । जसमा १३ वटा देशका प्रतिनिधिहरू हुनुहुन्छ भने ६ वटा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विचार राख्नुभएको बताउनुभयो । अब दुई वटा प्यारलल सेसनहरू सञ्चालन हुने र त्यसपछि काठमाडौँ घोषणा पत्र जारी गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जलवायु परिवर्तनसम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरूमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने उद्देश्यका साथ यो पहिलो सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको हो । सफलतापूर्वक उद्घाटन सत्र सम्पन्न भएको छ । १९ वटा वक्तव्यहरू भएका छन् । त्यसमध्ये १३ वटा देशका प्रतिनिधिहरूले आफ्नो वक्तव्य राख्नुभएको छ भने ६ वटा संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विचार राख्नुभएको छ ।’’

उहाँले जलवायु परिवर्तनको असर एउटा देशको प्रयासले मात्रै समाधान नहुनेतर्फ विश्व नेताहरूले विश्वको ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।

परराष्ट्रसचिव राईले भन्नुभयो, ‘‘हामी अब दुई वटा प्यारल सेसनहरु गर्दछौँ तीन दिनसम्म । हामीले काठमाडौं घोषणा पत्र जारी गर्छौं । अबको दिनमा नेपालले हिमालको विषयमा कसरी नेतृत्व लिन्छ र कुन बाटो हिँड्छ, विश्व जलवायु छलफललाई कुन बाटोमा हिँडाउन चाहन्छ भन्नेमा हामी काठमाडौँ घोषणा पत्र जारी गर्दैछौँ । जलवायु परिवर्तनको विषय एउटा मात्रै देशले समाधान गर्न सक्दैन । त्यसमा क्षेत्रीय, विश्वका सबै देशका साझेदारी आवश्यक पर्दछ । जसले बढी पोलुसन गरिरहेको छ, त्यसले बढी कन्ट्रिब्युट गर्नुपर्दछ ।’’