शेरबहादुर राई
ओखलढुङ्गा, जेठ १ गते । ओखलढुङ्गालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम तालिकाअनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता गरिएसँगै पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।
कोशी प्रदेशका १४ जिल्लामध्ये यस वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने ओखलढुङ्गा पहिलो जिल्ला बनेको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अहमद मन्सुरीका अनुसार जिल्लाका आठ वटै पालिकाका ७५ वटै वडामा १६ देखि ५९ महिना उमेर समूहका कुल तीन हजार १४० जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्णखोप पाइसकेका पछि जिल्ला घोषणा गरिएको हो ।
यस्तै जन्मेदेखि १५ महिना उमेर समूहका एक हजार ६८४ जना बालबालिकाले पनि उमेर अनुसार नियमिति खोप पाइसकेका छन् । जन्मदेखि १५ महिनासम्मका बालबालिका सिद्धिचरण नगरपालिकामा ३१९, चिशंखुगढीमा १६५, मानेभञ्ज्याङमा ३१९, मोलुङमा १५३, सुनकोशीमा २६७, चम्पादेवीमा १७२, लिखुमा १३१ र खिजीदेम्बामा १५८ जना छन् । १६ देखि ५९ महिना उमेरका बालबालिका सिद्धिचरणमा २४१, चिशङ्खुगढीमा १२८, मानेभञ्ज्याङमा ८५१, मोलुङमा ५०८, सुनकोशीमा ४३६, चम्पादेवीमा ६०८, लिखुमा २८१ र खिजीदेम्बामा ९७ जना छन् ।
जिल्लाका सबै बालबालिकाले खोप पाएको सूनिश्चितता भएकोले जिल्ला स्वास्थ्य प्रमुखको प्रस्ताव अनुसार जिल्ला खोप समन्वय प्रमुख एवम् समिति संयोजक टेकराज भट्टाईले पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो । जिल्ला समन्वय समितिका प्रमुख भट्टराईले पूर्णखोप सुनिश्चिततालाई दिगोपना दिनुपर्ने र खोप कार्यक्रमलाई जनस्तरमा जागरणका रूपमा लैजानुपर्ने बताउनुभएको छ ।
घोषणा कार्यक्रमको अवसरमा अभियानमा सक्रियतापूर्वक सहभागी हुने स्वास्थ्यकर्मी र पालिकालाई प्रशंसापत्रले सम्मान गरिएको छ । एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ । कार्यक्रमको अवसरमा पालिकाका स्वास्थ्य शाखाहरूले खोपसम्बन्धी कार्य प्रगति प्रतिवेदन र भइरहेका कामबारे प्रस्तुतीकरण दिएका थिए ।
स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको संलग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।