• १ जेठ २०८२, बिहिबार

‘सेटिङमा तस्करी भइरहेको दाबी’

blog

सुनसरी र मोरङ जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध रूपमा तस्करी गरी ल्याइएको सामान । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल
विराटनगर, जेठ १ गते ।
गृहमन्त्री रमेश लेखकले यहाँ आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा बैठकमा खुला सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइरहे पनि विशेष गरी सुनसरी र मोरङ जिल्लाका विभिन्न सिमा नाकाबाट अवैध तस्करीको घटना भइरहेको दाबी गरिएको छ ।

सिमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको स्थानीय युनिटसमेतको सेटिङमा व्यापक रूपमा तस्करी हुने क्रम बढेको छ । सिमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी बढेसँगै प्रादेशिक तहबाट त्यसको नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निकायले थप सक्रियता देखाएको दाबी गरे पनि तस्करी नियन्त्रणको घटनामा कमी आएको छैन ।

पछिल्लो समय सुनसरीको लौकही, घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज, कोशी ब्यारेज तथा आसपासको क्षेत्र र मोरङ जिल्लाको रानी तथा आसपासमा रहेका मटेरुवा, दरैयाको उखुबारी, दक्षिणी गेटका साथै सिक्टी, मायागञ्ज, अमाही बरियादी, डोरिया लगायतका नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको युनिटकै समन्यवमा तस्करी भइरहेको खुलेको छ ।

मोरङको विभिन्न नाकाबाट कपडाजन्य तथा उपभोग्य सामान, रजनीगन्धा, गुट्का लगायतका विविध सुर्तीजन्य सामग्री, खसी, राँगाको हड्डी तथा छाला, तारको झोला लगायतका विभिन्न सामानको अवैध तस्करीमा संलग्न अफ्ताब, सबनम, सोनी, मुन्नी, अङ्गुरी, विशाखा, तबरेज, गुड्डु लगायतका व्यापारीहरूसँग स्थानीय युनिटपतिहरूदेखि जिल्ला तहका अन्य अधिकृतहरूसमेतको सेटिङ रहेको स्थानीय व्यापारीहरूको भनाइ छ ।  

सुनसरीको सिमानाकामा व्यापक कडाइ गरिएको दाबी गरिए पनि देवानगञ्ज, कप्तानगञ्ज र साहेबगञ्ज नाका भने सिमा क्षेत्रमै परिचालित सुरक्षाकर्मीसमेतका संरक्षणमा तस्करीको बुझिएको छ । विभिन्न कपडाजन्य, सुर्तीजन्यलगायत मल, प्याज, चिनी, मोबाइल, गुटखा, किराना सामान र दैनिक उपभोग्य सामग्री तस्करी हुने क्रम रोकिएको छैन ।

गृह मन्त्रालयले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्न नपाउने नीति अगाडि बढाए पनि यस क्षेत्रमा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सादा पोशाकमा अधिकृत तहसमेतका सुरक्षाकर्मी परिचालन गरेर तस्करीमा संलग्न व्यवसायीहरूसँग समन्वय गर्ने गरेको दाबी व्यवसायीहरूको छ । सुनसरी तथा मोरङका विभिन्न नाकाबाट नेपालतर्फ अवैध तस्करी हुने गरेको र यसमा विभिन्न निकायको समन्वय रहेको भन्ने गुनासो बढिरहेको विषयलाई मध्यनजर गरी राजस्व अनुसन्धान कार्यालय इटहरीले रात्री गस्तीसमेत परिचालन गरिरहेको र त्यस क्रममा विभिन्न सामानहरू बरामद भइरहेको घटनाबाट पनि सीमानाकाबाट अवैध तस्करी बढ्दो रहेको तथ्यलाई पुष्टि गरेको देखिन्छ । 

पछिल्लो समय सिमा क्षेत्रबाट तस्करीको घटना बढिरहेको र त्यसमा सुरक्षाकर्मीसमेतको सेटिङ रहेको चर्चा आइरहेको समयमा कोशी प्रदेशमा आआफ्नो सङ्गठनको नेतृत्व सम्हाल्दै केही दिन अघिमात्र आउनुभएका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक इश्वर कार्कीले सिमा क्षेत्रबाट तस्करी नियन्त्रण गर्ने सन्दर्भमा कुनै कसुर नराख्ने दाबी गर्नुभएको छ ।