• १ जेठ २०८२, बिहिबार

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

blog

गलेश्वर (म्याग्दी), जेठ १  गते ।  रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु. २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यसका निम्ति आवश्यक तयारी भइरहेको छ ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो ।

सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ । आगामी एकदुई दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले बताउनुभयो ।

सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिने छ । “ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौँ”, सेढाईंले भन्नुभयो । 

पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर कालोपत्र र ३०० मिटर सडक ढलान भइसकेको छ । रासस