काठमाडौँ, वैशाख ३१ गते । स्वास्थ्य सेवा विभाग राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने कार्यक्रमका लागि आवश्यक पर्ने सामग्री अभाव हुन नदिन गम्भीर भएर लागेको छ ।
विभागका महानिर्देशक डा.टंकप्रसाद बाराकोटीले परिवार नियोजनका साधान, पोषणका सामग्री र भ्याक्सीन अभाव हुन नदिन गम्भीर भएर लागेको जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, “परिवार नियोजनका साधान, पोषणका सामग्री र भ्याक्सीन सामान्य अनुपातमा राख्ने परिमाणभन्दा केही कम भएता पनि यिनीहरुको पूर्ण अभाव हुन नदिने विषयमा विभाग गम्भीर भई लागिरहेको छ ।”
विभागका महानिर्देशक डा.बाराकोटीले परिवार नियोजनाका सामग्रीको चरम अभाव नभएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार परिवार नियोजनाका सामग्री केही महिनालाई पुग्ने मौज्दात रहेको छ । परिवार नियोजनका सामग्री खरिद प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “विभागले चालु आर्थिक वर्षका लागि चाहिने परिवार नियोजनका विभिन्न सामग्रीको खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा कन्डम, पिल्स लगायतका केही सामग्रीको सम्झौता भई आपूर्तिको चरणमा छ ।”
साथै ईम्प्लान्ट खरिद प्रक्रियामा प्राविधिक समस्याका कारण तत्काल खरिद गर्न नसक्ने अवस्था भए पनि हालसम्म देशभर आठ महिनाको लागि पुग्ने मौज्दात अझै रहेको डा. बाराकोटीको दाबी छ ।
आईरन चक्की लगायतका अत्यावश्यक औषधी खरिदका लागि विगत दुई वर्षदेखि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र तथा स्थानीय तहमा बजेट विनियोजन भएकाले विभागले खरिद नगरेको स्पष्ट पार्नुभयो ।
कुपोषित बालबालिकालाई खुवाउने थेरप्युटीक मिल्क, रेडी टु युज थेरप्युटीक फुड, भिटामिन ए, खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा यस्ता सामग्रीहरु आपूर्ति गर्ने सिमित आपूर्तिकर्ता भएको र बोलपत्रदाताले लागत अनुमानभन्दा अत्याधिक धेरै रकममा बोलपत्र प्रस्ताव पेस गरेका कारण हालको खरिद प्रक्रिया प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।
पोषणसँग सम्बन्धित विभिन्न सामग्रीको पूर्ण रुपले अभाव नभई आकस्मिक प्रयोजनका लागि केही महिनालाई पुग्ने मौज्जात विद्युतिय आपूर्ति व्यवस्थापन सूचना प्रणलीको अभिलेखले देखाएको छ ।
यस्ता प्रकृतिक पोषण सामग्री अभाव हुन नदिन विभागले युनिसेफ जस्ता दाता साझेदार निकायसँग समन्वय गरी वैकल्पिक व्यवस्था गर्ने प्रयत्न गरेको उहाँको भनाइ छ ।
यसैगरी, सर्पदंशको उपचारमा प्रयोग हुने खोपको मौज्यात हालसम्म पर्याप्त रहेको उहाँले जानकारी दिनुभयो । रेबिजविरुद्धको खोप केही कम भए पनि खरिद सम्झौता सम्पन्न भई आपूर्तिको चरणमा रहेकाले आगामी दिनमा यि खोपका कारण समस्या नआउने उहाँले प्रष्ट पार्नुभयो ।