गोकर्ण दयाल
बैतडी, वैशाख २९ गते । जिल्लामा पछिल्लो समय दलित समुदायका युवा नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलितको उपस्थिति बढ्न थालेको छ ।
पाटन नगरपालिका–५,का नरेशकुमार विश्वकर्मा नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षको नेतृत्व सम्हालिरहनु भएको छ । जिल्लामा सक्रिय राजनीतिक दल मध्ये नेकपा एमालेको जिल्ला अध्यक्षको नेतृत्व गर्ने नरेशकुमार विश्वकर्मा एक्ला दलित युवा हुनुहुन्छ ।
राजनीतिक परिवर्तनपछि नीति निर्माण गर्ने तहमा यसअघि नेकपा एमालेबाट पुरनसिंह दयाल संविधानसभा सदस्य भई सक्नु भएको छ । स्वास्थ्यको क्षेत्रमा डा.सुशील विक जिल्ला अस्पताल बैतडीको प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) हुनुहुन्छ । शिक्षाको क्षेत्रमा जिल्लाको पुर्चौडी नगरपालिका–७,का दिनेश नागारी नगरपालिकाको शिक्षा शाखा प्रमुख हुँदै अहिले गलिनाथ माविको प्रधानाध्यापकको नेतृत्व गरिरहनु भएको छ । उहाँ एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।
सामाजिक क्षेत्रमा बैतडीकै राजु राम भुलले आन्दोलनको नेतृत्व गरेर हलिया मुक्त राष्ट्र घोषणा गर्न सफल हुनु भएको छ । धार्मिक क्षेत्रमा शिवनाथ गाउँपालिका बैतडी मूल निवासी आचार्य कृष्ण दमाई पशुपति कोटी होमको व्यासबाट प्रवचन दिएर चर्चामा हुनुहुन्छ ।
राष्ट्र सेवक कर्मचारीतर्फ बैतडीकै हरिशरण वड, दशरथ ओड, ध्रूव दयाल, महेश पार्की लगायतले जिल्लाका विभिन्न कार्यालयको प्रमुख भएर जिम्मेवारी बहन गरिसक्नु भएको छ । सुरक्षातर्फ बैतडी त्रिपुराका गोविन्दराम परियार नेपाल प्रहरीको उच्च तह एसपी भएर सेवा निवृत्त हुनुहुन्छ । हाल उहाँ कानुनको क्षेत्रमा कुशल अधिवक्ताका रूपमा क्रियाशील हुनुहुन्छ ।
स्थानीय तहको सरकारमा सरस्वती कोली २०७४ को निर्वाचनमा पाटन नगरपालिकाको उपप्रमुख भई सक्नु भएको छ । यद्यपि २०७९ को निर्वाचनमा नेतृत्व तहमा भने दलितको अर्थपूर्ण सहभागिता हुन सकेको छैन । बैतडीका ८४ वडामा भने दलित महिला वडा सदस्य रहँदै आएका छन् ।
साहित्यिक क्षेत्रमा मेलौली नगरपालिकाका कर्ण दयाल सोराडीले बैतडीमै बसेर आठ वटा कृति प्रकाशित गरिसक्नु भएको छ । इन्जिनियरिङको क्षेत्रमा नरेश भुल पूर्वाधार विकास कार्यालय बैतडीमा अधिकृत छैटौँ स्थानमा कार्यरत हुनुहुन्छ । सङ्गीत तथा देउडा गायनको क्षेत्रमा पञ्चेश्वरमा महेश औजी, मेलौलीका गोपाल दयाल सुदूरपश्चिममै चर्चामा हुनुहुन्छ ।
बैतडीको कुल जनसङ्ख्या दुई लाख ४२ हजार ४४४ मध्ये दलितको जनसङ्ख्या ५० हजार रहेको छ । जनसङ्ख्या अनुसार सङ्घ र प्रदेश निर्वाचन क्षत्रेमा दलित समुदायबाट अब प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु पर्ने आवाज उठ्न थालेको छ ।
राजनीतिक परिवर्तनपछि दलित समुदायले शिक्षा, स्वास्थ्य र लोक सेवा जस्ता क्षेत्रमा विशेष अधिकार प्राप्त गरे पनि राजनीतिक दलहरूले दलितलाई स्थानीय तहको कार्यकारी पदमा निर्वाचन लडाउन अझैँ डराई रहेको विश्लेषक डा.केदारचन्द्र भट्टले बताउनुभयो ।
जिल्लामा ५० हजार जनसङ्ख्या भएको दलित समुदायका कम्तीमा पनि ३० हजार मतदाता छन् । निर्वाचन प्रणाली फेरेर भए प्नि अब जनसङ्ख्याका आधारमा दलितलाई कार्यकारी पदमा चक्रीय प्रणाली अनुसार उम्मेदवार बन्ने मार्गको खोजी हुनु पर्ने उहाँले बताउनुभयो ।