• २९ वैशाख २०८२, सोमबार

देउराली पाण्डव पार्क निर्माण सुरु

blog

दोलखा समाचारदाता

दोलखा, वैशाख २८ गते । दोलखाको भीमेश्वर नगरपालिका–४ स्थित जिलु सामुदायिक वन क्षेत्रको ७५ रोपनी जग्गामा देउराली पाण्डव पार्क निर्माण सुरु भएको छ । गुरुयोजनामा उल्लेख भएकामध्ये बागमती प्रदेशको करिब एक करोड रुपियाँको लगानीमा केही संरचना निर्माण भएका देउराली पाण्डव पार्क निर्माण उपभोक्ता समिति अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार गुरुयोजनामा उल्लेख भएकामध्ये ८२ लाख रुपियाँमा पिकनिक भवन, दुईकोठे शौचालय, चार वटा सुविधासम्पन्न बेन्चसहितको प्रतीक्षालय निर्माण हुने छ । किंवदन्ती तथा पौराणिक ग्रन्थमा उल्लेख गरिए अनुसार पाँच पाण्डवको गुप्तवाससँग जोडिएको यो स्थललाई पुरातात्त्विक हिसाबले बहुवर्षीय योजना अनुसार निर्माण गर्दै लगिने उद्देश्य राखिएको छ । 

पाँच पाण्डवको गुप्तवास कता हुने भन्नेबारे यसै स्थलमा बसेर दृश्यावलोकन गर्दै निक्र्योल गरिएको भनाइ रहेको छ । निर्माण उपभोक्ता समिति अध्यक्ष सापकोटाले भन्नुभयो, “त्यसबेलाका केही पदचिह्न पनि यहाँ रहेका छन् । दोलखा पौराणिक र धार्मिक दृष्टिले महत्वपूर्ण स्थल हो । जिलुमा पनि यस्ता धेरै स्थल रहेका छन् ।” 

गुरुयोजना अनुसार करिब २९ करोड रुपियाँको लगानीमा यहाँ रहेको किरा गुफालाई मध्यविन्दुमा पारेर धनुषको चिह्नसहितको सुरुमा गेट, गेटको दायाँपट्टिबाट गोलाकार हुँदै बालवाटिका, बुक कर्नर, पाँच पाण्डवको मूर्ति, किरा गुफाको शिरको चट्टानमा देवीसहितको बाघको मूर्ति बनाइने भएको छ । 

त्यसै गरी कृष्ण अर्जुनको सारथि, बालवाटिका र पिकनिक भवनलाई जोडने पुल, सरसाई भीष्म पितामहको मूर्ति र बालक्रीडाका लागि रोटेपिङ, झुलना, घुम्ने पिङलगायतका संरचना निर्माण हुने गुरुयोजनामा उल्लेख रहेको छ । यहाँबाट जिल्लाका रोल्वालिङ हिमशृङ्खलामा रहेका गौरीशङ्करलगायत हिमाल, कालिञ्चोक भगवती, सुन्द्रावती, हनुमन्ते, शैलुङलायतका चारैतिरका महत्वपूर्ण स्थलको दृश्यावलोकन गर्न सकिन्छ । यो ठाउँ एक पटक आउनैपर्ने स्थलका रूपमा विकास भई पर्यटकीय गन्तव्य बन्ने अपेक्षा राखिएको उपभोक्ता समितिका अध्यक्ष सापकोटाले बताउनुभयो ।