• २७ वैशाख २०८२, शनिबार

आतङ्कवादको प्रतिकार गर्नु सबैको दायित्त्व हो : मुख्यमन्त्री सिंह

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख २७ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै भारतको पक्षमा दृढ ऐक्यबद्धता प्रकट गर्नुभएको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सिंहले उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जना निर्दोष नागरिकको ज्यान जानु अत्यन्त दुःखद रहेको उल्लेख गर्नुभएको छ। उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

विज्ञप्तिमा भनिएको छ, “भारत सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि लिँदै आएका साहसी निर्णयहरू आवश्यक छन्। जब कुनै राष्ट्र बारम्बार आतङ्कवादको निशानामा पर्छ, त्यस्तो अवस्थामा प्रतिकार गर्नु केवल अधिकार मात्र होइन, दायित्त्व पनि हो। भारतका यी प्रयासलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र नभई सम्पूर्ण मानवताको साझा लडाइँ हो।”

मुख्यमन्त्री सिंहले मधेश प्रदेशका जनता सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने उल्लेख गर्नुहुँदै  भारतका जनतासँग गहिरो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ। “हाम्रो प्रदेशले पनि विगतमा अनेकौँ पीडा र सङ्घर्ष भोगेको छ, त्यसैले हामी भारतका जनताको पीडामा गहिरो आत्मीयता महसुस गर्छौं,” विज्ञप्तिमा भनिएको छ।

आतङ्कवादको न त कुनै जात हुन्छ, न धर्म, न सिमाना भन्ने धारणा व्यक्त गर्दै मुख्यमन्त्री सिंहले यस्ता कायरतापूर्ण आक्रमण मानवता विरुद्धको अपराध भएको बताउनुभएको छ। “आजको समयमा चुप लाग्नु होइन, सत्यको पक्षमा दृढतापूर्वक बोल्न आवश्यक छ। आतङ्कारीलाई मौन साथ होइन, खुलेर प्रतिकार गर्नुपर्छ,” विज्ञप्तिमा उल्लेख छ। मधेश भारतको साथमा सदैव रहने मुख्यमन्त्री सिंहले ऐक्यबद्धता जनाउनुभएको छ।