• ८ पुस २०८२, मङ्गलबार

शीतलहर नरोकिँदा जनजीवन कष्टकर

blog

मङ्गलबार बिहान सर्लाहीमा लागेको बाक्लो हुस्सु, कुहिरो । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, पुस ८ गते ।
विगत चार दिनदेखि निरन्तर शीतलहर चलेर अत्यधिक चिसो भइरहँदा सर्लाहीसहित मधेशको जनजीवन कष्टकर बनिरहेको छ । यहाँ रातदिन नै लगातार शीतलहर चलेर कठ्याङग्रिदो चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, अशक्त र दीर्घरोगी बढी प्रभावित भएका छन् ।

गएको शनिबारदेखि हुस्सु, कुहिरोसहित शीतलहर चलेर अत्यधिक जाडो बढ्दा जनजीवन प्रभावित बनेको हो ।  बिहान–बेलुका चिसो छल्न मानिसहरु घर, चोक, चौतारा र बजारमा आगो तापेर बसिरहेको देखिन्छ ।

न्यानो कपडा नभएका विपन्न, दलित तथा सीमान्तकृत परिवार भने कठ्याङग्रिएर बस्न बाध्य छन्, तर चिसो प्रभावितलाई न्यानो प्रदान गर्न स्थानीय पालिकाहरु, जिल्ला विपद् व्यवस्थापन समितिलगायत अन्य सरोकारवाला निकायले कुनै चासो देखाएका छैनन् । हुस्सु, कुहिरोका कारण तोरी, आलु, लहरी, चनालगायतका बाली प्रभावित हुने भन्दै किसान चिन्तित बनेका छन् ।

चौपाय र पन्छीसमेत चिसोबाट अत्यन्त प्रभावित बनेका छन् । दिउँसोपख मौसम केही उघ्रिने गरे पनि चार दिनदेखि घाम नलाग्दा सरसफाईसहित अन्य काम प्रभावित भएको स्थानीयको गुनासो छ ।

सर्लाहीमा चुरेवर्ती क्षेत्र र पूर्वपश्चिम राजमार्ग क्षेत्रको तुलनामा सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा अझ बढी मात्रामा हुस्सु, कुहिरो लागेर शीतलहर चलिरहेको स्थानीयले बताएका छन् । चिसोका कारण अत्यावश्यक काम परेर विभिन्न ठाउँमा पुग्नुपर्नेहरु प्रभावित बनेका छन् ।

बाक्लो हुस्सु लागेर नजिकैको दृश्यसमेत प्रष्टसँग नदेखिने भएपछि सवारी साधनहरु दिउँसै पनि बत्ती बालेर गुडिरहेका छन् । अहिलेको मौसममा चिसोजन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, वृद्धवृद्धासहित सबै वर्गका मानिस न्यानो भएर बस्न÷बसाउन र झोलिला तथा ताता खानेकुरा खान/खुवाउन चिकित्सकले आग्रह गरेका छन् ।