• २६ वैशाख २०८२, शुक्रबार

विमानस्थल स्तरोन्नतिको बाटो खुल्यो

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), वैशाख २५ गते । जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुलेको छ । बर्सौंदेखि स्तरोन्नति हुने भनिए पनि विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो । सरकारले जगा अधिग्रहणका लागि पहिलो किस्ताबापत दुई करोड रुपियाँ निकासा गरेसँगै विमानस्थल विस्तारको बाटो खुलेको प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्ष २०८१/८२ भित्र जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि १० करोड रुपियाँ स्रोत सुनिश्चित भएको थियो । कार्यान्वयन नभएपछि विमानस्थल विस्तार हुने आस जुम्लावासीले मारिसकेका थिए । चन्दननाथ नगरपालिकाको प्रमुखकै कार्यकालका बेला विमानस्थल विस्तारका लागि पहल गर्दै आएका सांसद सेजुवालले जग्गा अधिग्रहण गर्न पहिलो किस्तामा दुई करोड रुपियाँ निकासा भएपछि केही आशा पलाएको प्रतिक्रिया दिनुभयो । विनियोजन भएभन्दा निकासा रकम कम भएको थाहा पाएपछि अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पदाधिकारीबिच चर्काचर्की गर्नु परेको उहाँले सुनाउनुभयो । 

सबै ठाउँका विमानस्थलमा निकासा दिनुपर्ने भएकाले पहिलो किस्ता दुई करोड निकासा भएको र बाँकी बजेट एक/डेढ महिनाभित्रै सबै निकासा हुने सांसद सेजुवालले बताउनुभयो । यो महिनाभित्र बाँकी आठ करोड निकासा गर्न लागि सबै पक्षसँग छलफल भइसकेको छ र क्यानले विवरण पठाउन भनिसकेकाले क्यानबाट बजेट मागको पत्र अर्थमा पठाउने तयारी छ । विमानस्थल विस्तारको विषय लामो समयदेखि चर्चामा रहे पनि परिणाम नदेखिएपछि नागरिकले विश्वासै गर्न छाडेका थिए । विमानस्थल विस्तार प्रक्रिया सुरु हुने हल्लासँगै राजनीतिक दलपिच्छेका नेताले श्रेय लिने होडबाजीका कारण रोकिँदै आएको थियो ।

विसं २०५१ मा निर्माण भएको जुम्ला विमानस्थलको टर्मिनल भवन जीर्ण बन्दै गएपछि नयाँ टर्मिनल भवन निर्माण तथा धावनमार्ग विस्तारलगायत पूर्वाधार निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने छ । विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्न एक अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । यो रकममध्ये मुआब्जाका लागि ४८ करोड आवश्यक पर्ने अनुमान छ । 

सांसद कान्तिका सेजुवाललगायतका नेताहरूले चालु आवमा ४० करोड बजेट विनियोजन गर्न माग गर्नुभएको थियो । अर्थ मन्त्रालयले भने चालु आवमा कार्यान्वयन हुने गरी जुम्ला विमानस्थलका लागि १० करोड स्रोत सुनिश्चित गरेको थियो । माथिल्लो कर्णालीको जनजीवन र पर्यटनको आधार मानिएको जुम्ला विमानस्थल विस्तार अघि बढेको हो । ६७० मिटर लामो धावनमार्ग एक हजार १५० मिटर लम्बाइको बनाउने लक्ष्य छ । त्यसका लागि धावनमार्गको पूर्वपट्टि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । 

विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यका लागि उत्तर र पूर्वतर्फ करिब १८३.८० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो ।