काठमाडौँ, वैशाख २३ गते । नेपाली महिला क्रिकेट टोलीले अभ्यास भएको दोस्रो अभ्यास खेल जितेको छ । दिल्लीमा मङ्गलबार भएको खेलमा नेपालले भारतको आरपिसिए गर्ल्सलाई चार रनले हरायो ।
जितका लागि नेपालले दिएको एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको आरपिसिए निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २५ रनमा समेटिएको थियो ।
आरपिसिएका लागि नजमा खानले अविजित ४७, वारुले २९ र मान्वीले २० रन बनाउनुभयो । बलिङमा नेपालका लागि पूजा महतोले दुई तथा कविता कुँवर, शवनम राई र रिया शर्माले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन बनाउनुभयो । रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महताेले १६ र कप्तान इन्दु बर्माले १५ रन जोड्नुभयो ।
बलिङमा आरपिसिएका दिक्षा शर्मा र मेधवीले दुई दुई तथा तारणी जोशी र पारले समान एक एक विकेट लिनुभयो । यसअघि नेपाल एक खेलमा पराजित भएको थियो भने अर्को खेल वर्षका कारण रद्द भएको थियो । नेपालले आसन्न आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि भारतमा अभ्यास खेल खेलेको हो ।
विश्वकप छनोट मे ९ देखि २० तारिखसम्म थाइल्यान्डमा हुनेछ । नेपाली टोली भारतबाटै थाइल्यान्ड जाने छ । छनोटमा समूह ‘सी’ मा रहेको छ । यस समूहमा नेपालसहित बहराइन र हङकङ छन् । नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ तारिखमा बहराइसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा ।