प्रेम अधिकारी
पशुपतिनगर(इलाम), वैशाख २२ गते । सूर्योदय नगरपालिका वडा नं.४ अन्तु र वडा नं.५ समालबुङमा २६ करोड रुपियाँको लागतमा निर्माण गरिएको खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । सोमबार एक विशेष समारोहका बिच खानेपानी मन्त्री प्रदीप यादवले उक्त आयोजनाको उद्घाटन गर्नुभएको हो ।
२०७८/७९ मा स्वामीनारायण निर्माण सेवाले ठेक्का लिएर निर्माण कार्य सुरु गरेको आयोजनाबाट अब दुई हजार घरधुरीमा धारा जडान गरी ११ हजार जनसङ्ख्याले लाभ लिन सक्ने सङ्घीया खानेपानी तथा ढल व्यवस्थापन कार्यालय इलामका पौडेल उत्सव पौडेलले जानकारी दिनुभयो ।
लिफ्टिङ सिस्टममार्फत विद्युत् प्रयोग गरी सिद्धिखोला र अन्तुखोलाको महेन्द्रबेँसीबाट पानी तानिएको छ । आयोजनाबाट प्रति सेकेन्ड १३ लिटर पानी प्रवाह हुने छ । मुख्य प्रसारण पाइपलाइन ३.८ किलोमिटर, सहायक प्रसारण लाइन ८.८ किलोमिटर र वितरण पाइपलाइन ९८.९५ किलोमिटर लामो छ ।
आयोजनाका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् भने उपभोक्ताबाट १० प्रतिशत श्रमदान पनि गरिएको छ । आयोजना अन्तर्गत मुख्य ट्याङ्की, पम्प हाउस, भल्भ चेम्बर, वाश आउट, हाइड्रन्ट, एयर भल्भ जस्ता सम्पूर्ण संरचना निर्माण गरिएको छ । यसअघि सूर्योदय नगरपालिकाले शुख्खा क्षेत्र घोषणा गरिएको अन्तु र समालबुङ क्षेत्रमा पानीको चरम अभावले व्यवसायी र पर्यटकलाई समस्या हुने गरेको थियो । कार्यक्रममा मन्त्री यादवले अब डोकोमा पानी बोक्ने दिन अन्त्य भएको बताउँदै तीनै तहका सरकारबिच समन्वय मार्फत जनताका आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अबदेखि तीन करोडभन्दा माथिका खानेपानी आयोजना सङ्घीय सरकारले मात्र सञ्चालन गर्ने जानकारी दिनुभयो । मन्त्री यादवले हाल देशभर ९८ प्रतिशत घरधुरीमा शुद्ध खानेपानी पुगेको र आगामी एक वर्षभित्र १०० प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको पनि बताउनुभयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पछिल्लो एक वर्षमा दुई वटा ठुला आयोजना सञ्चालन गर्न सफल भएको जानकारी दिँदै अन्तु, समालबुङ र कन्याममा एक अर्बभन्दा बढीका आयोजना सञ्चालन भइसकेको जानकारी दिनुभयो । उहाँले जलवायु अनुकुलन हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष राजु बम्जनले आयोजना सम्पन्न भएसँगै वडावासी काकाकुल अवस्थाबाट मुक्त भएको बताउनुभयो । कार्यक्रममा इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य खिनु लिम्बु, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईलगायतले खानेपानी तथा ढल व्यवस्थापनको क्षेत्रीय कार्यालय इलाममै राख्न माग गर्नुभयो ।