• २२ वैशाख २०८२, सोमबार

बिरामीको मृत्युसम्बन्धी मुद्दाको पेसी तोकियो : मोर्फिनको अधिक प्रयोग जोखिमपूर्ण

blog

शशीधर पराजुली

विराटनगर, वैशाख २२ गते  । फोक्सोको दीर्घरोग भएकी सुनसरी इनरुवाकी बिरामीलाई दुखाइ कम गर्ने मोर्फिन सेवन गराउँदा मृत्यु भएको भन्दै मोरङ जिल्ला अदालतमा दायर भएको मुद्दाको पेसी जेठ ६ गतेका लागि तोकिएको छ ।

गत माघ १० गते इनरुवाकी विमला थापा पोखरेलको उपचारकै क्रममा चिकित्सकले ढाडको दुखाइ कम गर्न मोर्फिन नामक औषधी सेवन गराएकै कारण मृत्यु भएको भन्दै परिवारका तर्फबाट उपचारमा संलग्न चिकित्सकविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।

श्वासप्रश्वासको समस्या देखिएकाले विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका लागि पुग्नुभएकी विमला थापा पोखरेल फोक्सोमा दीर्घकालीन रोग सिओपिडी र रक्तअल्पताबाट पीडित हुनुहुन्थ्यो । अस्पतालका फोक्सो तथा श्वासप्रश्वास विशेषज्ञ डा. रामहरि घिमिरेको रेखदेखमा उहाँको उपचार भइरहेको थियो । एक साताको उपचारपछि निको भएकाले डा. घिमिरेले डिस्चार्ज गर्न सुझाव दिएपछि बिरामी पोखरेलले आफूलाई ढाडको दुखाइ पनि रहेको समस्या सुनाउनुभएको थियो । डा. घिमिरेले ढाड दुखाइ समाधान गर्न मोर्फिन नामक औषधी सिफारिस गरेर स्वास्थ्यकर्मीकै रोहबरमा ५० मिलिग्रामका दरले एकै दिन तीन गोली (१५० एमजी) सेवन गराउन लगाएका थिए । त्यसपछि ठिक भइसकेको श्वासप्रस्वाससम्बन्धी पुनः बल्झिएर बिरामीको अवस्था झन् बिग्रिँदै गएको र मृत्यु भएको विमलाका पति महेश्वर पोखरेलले जानकारी दिनुभयो । पोखरेलको मृत्युपछि उनका परिवारले चिकित्सकले प्रयोग गरेको औषधीका बारेमा विज्ञसँग जानकारी लिएका थिए । विज्ञहले सिओपिडी समस्या भएका बिरामीलाई मोर्फिन नामक औषधी सेवन गराउनै नहुने र गराउनै पर्ने अवस्थामा पनि त्यसको सिफारिस फोक्सो तथा श्वासप्रस्वास विशेषज्ञले नभई अन्य चिकित्सकको सल्लाहमा हुनुपर्ने बताएपछि परिवारले चिकित्सकविरुद्ध मुद्दा दायर गरेका हुन् ।

परिवारका सदस्यले उपचारमा संलग्न चिकित्सकमाथि कारबाहीको माग गरेका छन् । फर्माकोलोजिस्ट डा. प्रविनप्रसादले सिओपिडीको समस्या भएको बेलामा वा श्वास लिन कठिनाइ भएका बेला मोर्फिन प्रेस्क्राइब गर्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मोर्फिन हाइलेबल पेन किलर हो । अरू कुनै पेन किलरले काम गरेन भने मात्र यो औषधी प्रेस्क्राइब गर्नु पर्छ । यदि श्वाप्रश्वासको समस्या छ, मोर्फिनको एलर्जी छ, कम रक्तचाप छ, गम्भीर खालका फोक्सो, मिर्गौलाका बिरामीलाई यस्तो औषधी प्रेस्क्राइब गर्न मिल्दैन ।” यो औषधी सामान्यतः हाडजोर्नीको शल्यक्रिया, क्यान्सरका कारण हुने अति दुखाइ भएको बेलामा बिरामीको अवस्था हेरेर मात्र प्रयोग गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

मोर्फिन औषधीको कति मात्र दिने भनेर चिकित्सकले निर्धारण गर्न नसकेमा बिरामीको श्वासनली बन्द भई मृत्यु हुने नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतीशकुमार देवले बताउनुभयो । मोर्फिन नार्कोटिक समूहमा पर्ने औषधी भएका कारण यसलाई चिकित्सकले सामान्य रूपमा प्रयोग गर्दैनन् । यसको गलत र बढी मात्रा प्रयोग हुन गएमा बिरामी  दीर्घरोगी हुने वा मृत्युसमेत हुने जोखिम रहने भएकोले बढी नै सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन् ।

डा. सतीशका अनुसार बिरामीलाई मोर्फिन प्रेस्क्राइब गर्दा कारणसहित रेकर्ड राखेर र बिरामीलाई विशेष निगरानीमा राखेर मात्र प्रयोग गर्नु पर्छ तर विमलाको सवालमा भने अन्य सामान्य औषधी झैँ यो औषधी प्रयोग भएको मुद्दाको मिसिल अध्ययन गर्दा पाइएको उक्त मुद्दा अध्ययन गरिरहनुभएका वरिष्ठ अधिवक्ता मानबहादुर रुम्दाली राईले बताउनुभयो । उहाँले भन्नुभयो, “यो औषधी कसलाई प्रयोग गर्न हुने र नहुने भन्ने कुरा सामान्य स्वास्थ्यसम्बन्धी ज्ञान भएकालाई पनि जानकारी हुने, स्वतः थाहा पाउने सर्वमान्य विषय नै रहेछ, त्यसैले जसले यो औषधी सिफारिस गर्नुभयो त्यो लेखाइ नै गलत जस्तो देखिन्छ ।”