• २२ वैशाख २०८२, सोमबार

भारतीय एम्बुलेन्स र चालक नियन्त्रणमा

blog

सुनसरी समाचारदाता

इटहरी, वैशाख २२ गते । पछिल्लो समय तराईका जिल्लाबाट गाँजा तस्करीमा कतिपय अवस्थामा बिरामी बोक्ने एम्बुलेन्सको समेत प्रयोग हुँदै आएको छ । शनिबार प्रहरीले रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजासहित एक भारतीय नम्बरको एम्बुलेन्स र त्यसका चालकलाई १८० किलो गाँजा तस्कर गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो क्षेत्रको सम्पूर्ण सडक ब्लक गर्दै चेक गरेको थियो । चेक गर्ने व्रmममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सलाई रोकी खानतलासी गर्दा कालो प्लास्टिकभित्र सेतो बोरामा प्याक गरिएको ३०/३० केजीका छ बोरा गरी जम्मा १८० केजी गाँजा  फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

उक्त एम्बुलेन्सचालक सुनसरीको वराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय राजकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालकसहित बरामद लागुऔषध र एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  यसअघि पनि गाँजा तस्करमा संलग्न कारोबारीले गाँजाको तस्करीमा प्रयोग गरेका नेपाली नम्बर प्लेटको एम्बुलेन्स तथा नक्कली सरकारी नम्बर प्लेटको गाडी, तेल बोक्ने ट्याङ्करलगायतका विभिन्न सवारीसाधनसमेत सुनसरीको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।