दार्चुला समाचारदाता
दार्चुला, वैशाख २२ गते । दार्चुलामा धमाधम ग्रामीण विद्युतीकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युतीकरणको काम गरिरहेको हो ।
दार्चुलामा विद्युत्को मेन लाइन र शाखा लाइनको काम धमाधम भइरहेको छ र विद्युत् प्रोजेक्टका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले भन्नुभयो । प्रोजेक्टले जिम्मा पाएको १२३ लोडसेन्टरमध्ये ८० वटा लोडसेन्टरमा ट्रान्सफर्मर चढाइसकेका छौँ । बाँकीमा समेत असार मसान्तसम्म ट्रान्सफर्मर चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण गरेको छ । मार्माको वडा नम्बर १ र अपिहिमालको दुर्गम गाउँमा भौगोलिक विकटताका कारण काम गर्न केही ढिलाइ तथा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । लेकमको विकट क्षेत्र रतौडामा केही दिनपहिले ट्रान्सफर्मर राखिएको छ । महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ ।
व्यास, मार्मा, नौगाड, अपिहिमालमा पनि काम भइरहेको छ, उहाँले भन्नुभयो, “जिल्लाभरि विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ । सबैतिर काम भइरहेकाले विद्युत् लाइनका तार र पोल अभाव भइरहेको छ ।”
दार्चुलामा हालसम्म ७० प्रतिशत घरधुरीमा बिजुली बलिसकेको छ । करिब २८ हजार घरपरिवार बसोबास रहेको यस जिल्लामा २० हजार घरधुरीमा विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले बताउनुभयो । करिब २० हजार घरमा बिजुली पुगिसकेको छ, उहाँले भन्नुभयो, “केही महिनापहिलेसम्म एकदेखि दुई सय मिटर मात्रै बिक्री भइरहेकोमा अहिले मासिक चारदेखि पाँच सय मिटरको माग आइरहेको छ । मासिक मिटर बिक्रीवितरणको तथ्याङ्क हेर्दा पनि पछिल्लो समय विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको देखिन्छ । दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलभिसा गरेर तीन वटा सबस्टेसनमार्फत विद्युत् वितरण गरिएको छ ।