चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । सदरमुकाम फुङ्लिङमा आइतबार अबेर सम्पन्न भएको जिल्ला भेलाले प्रदीप मादेन (नानी) संयोजक रहेको ४७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको हो ।
मोर्चाको सह–संयोजकमा इन्द्र थलङ, श्री लिङ्खिम, पूर्ण पालुङ्वा, अशोक मादेन र डम्बर लाबुङ चयन हुनुभएको छ । सदस्य–सचिवमा धनकुमार येङ्देन, प्रवक्ता सरोज कङ्लिवा, सहसचिवमा चतुरमती थाङ्देन र आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वा चयन हुनुभएको छ ।
मोर्चाको सल्लाहकारमा मोती पालुङ्वा, कर्णबहादुर पालुङ्वा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कीर्तिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन र हर्कहाङ तुम्बाहाम्फे रहनुभएको छ । यसै गरी बिरेन तबेबुङ संयोजक रहेको संयुक्त पहिचानवादी युवा मोर्चाको जिल्ला समिति पनि गठन गरिएको छ । युवा मोर्चाको सहसंयोजकमा जनम इधिङ्गो चयन हुनुभएको छ ।
जिल्ला भेला मोर्चाका संयोजक डकेन्द्रसिंह थेगिम, पहिचानवादी नेताहरु ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, अशिम पालुङवा, चन्द्र मादेन लगायतको उपस्थितिमा गठन गरिएको प्रवक्ता सरोज कङ्लिवाले जानकारी दिनुभयो । मोर्चाको भेलाको अवसरमा गत फागुन १० गते नो केबलकार सङ्घर्षका क्रममा पक्राउ परी प्रहरी हिरासतमा २७ दिन बसेका र पक्राउपुर्जी जारी भएका नौ जनालाई सम्मानसमेत गरिएको कङ्लिवाले जानकारी दिनुभयो ।
त्यस्तै पाथीभरा (मुक्कुमलुङ) केबलकारविरुद्ध आन्दोलनका क्रममा घाइते भएकालाई उपचार सहयोगबापत ताप्लेजुङ युके समाज, फुरुम्बो पालुङ्वा बंश प्रतिस्ठान र पहिचानवादी मोर्चा ताप्लेजुङ–काठमाडौँ सम्पर्क समितिले आर्थिक सहायता उपलब्ध गराएको छ । पहिचानवादी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रजलाई समेत विशेष सम्मान गरिएको मोर्चाले जनाएको छ ।