बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), वैशाख २२ गते । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गर्नुभएको छ ।
कैदीलाई खेलकुद, योग, ध्यान तथा सकारात्मक सोचसम्बन्धी आइतबार तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री सार्कीले खेलकुदलगायतका शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । पाँचदिने योग शिविरमा योगगुरु गणेश भट्ट, पवनकुमार पनेरू र ईश्वरी बम चन्दले प्रशिक्षण गराइरहनुभएको छ ।
कारागारमा हाल क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् । ९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरेर ४५३ कैदीबन्दी रहेका छन् । विसं २०२४ मा निर्माण गरिएको सो कारागार भवन अहिले जीर्ण अवस्थामा छ । तालिमको उद्घाटन गर्नुहुँदै मन्त्री सार्कीले कारागारको नयाँ भवन निर्माणका लागि मन्त्रालयले यसै वर्षदेखि प्रक्रिया थाल्ने प्रतिबद्धता जनाउनुभयो ।
गत आर्थिक वर्षमा मन्त्रालयले ३४ कोठे नयाँ कारागार भवन निर्माणका लागि भन्दै रातो किताबमा ५० लाख रुपियाँ विनियोजन गरिएको थियो तर भवन निर्माणका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढ्न नसक्दा कैदी व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनका जेलर रामदत्त जोशीले बताउनुभयो । भवन निर्माण प्रक्रिया शीघ्र अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।