• २२ वैशाख २०८२, सोमबार

गण्डकी साहित्य चक्रीय मार्गको प्रस्ताव

blog

लमजुङको बाहुनडाँडामा राष्ट्रकवि माधव घिमिरेको सालिक अनावरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल ।

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुझाव दिनुभएको छ ।

आइतबार लमजुङको बाहुनडाँडा पुस्तुनमा राष्ट्रकवि माधव घिमिरेको पूर्ण कदको सालिक अनावरणपछि सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा राख्नुभएको हो । उहाँले कवि शिरोमणि लेखनाथ पौडेलको जन्मभूमि अर्घौंअर्चलेदेखि राष्ट्रकवि माधव घिमिरेको गाउँ बाहुनडाँडासम्म जोडेर गण्डकी साहित्य चक्रीय मार्गको निर्माण गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि कास्कीको अर्घौंअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थललाई समेटी एउटा गण्डकी साहित्य सर्कल (चक्र) निर्माणका लागि म आग्रह गर्दछु ।” उहाँले तनहुँका आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेको बताउनुभयो । 

राष्ट्रकवि घिमिरेको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा बनेको पार्क र सालिकले यहाँको महत्व र गरिमा बढ्नुका साथै समग्र भाषा तथा साहित्यप्रेमीको एउटा आकर्षक गन्तव्य स्थलका रूपमा विकास भएको राष्ट्रपति पौडेलले बताउनुभयो । “गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका बस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाका मात्र होइन, हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यका लागि उर्वर वातावरण दिएको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले यही सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधाराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भएको र नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल हुनुभएको धारणा व्यक्त गर्नुभयो । 

राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताउनुभयो । उहाँले हाम्रो देशको गौरव एवं पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कन्जुस्याइँ गर्न हुँदैन भन्ने मलाइ लाग्दछ ।” विगतमा तत्कालीन पश्चिम ३ नम्बर लमजुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पुर्‍याएको सहयोगलाई कहिल्यै बिर्सन नहुने उहाँको भनाइ थियो ।  

राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा आयोजित राष्ट्रकवि घिमिरेको पूर्ण कदको सालिक अनावरण कार्यक्रमलाई गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले सम्बोधन गर्नुभएको थियो । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले राष्ट्रकवि माधव घिमिरे, वीर भक्ति थापा र भूगोलविद् हर्क गुरुङ जस्ता मूर्धन्य व्यक्तिको जन्मले पालिकाको छुट्टै महìव र विशेषता रहेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट तीन लाखको सहयोगमा पार्कको संरचना निर्माण गरिएको राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेले जानकारी दिनुभयो ।