• १५ असार २०८१, शनिबार

ओझेलमा पर्दै पुराना ग्रामीण बस्ती

blog

सर्लाहीको ग्रामीण भेगमा पर्ने पर्सा बजार । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ २५ गते । कुनै समय जिल्लाको प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले सुनसान छन् । जिल्लाको त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजारक्षेत्र हिजोआज ओझेलमा पर्दैगएका छन् ।   

राजमार्ग क्षेत्रबाहेक अन्यत्र बजार विकास हुन सकेको छैन् । जिल्ला सदरमुकाम समेत रहेको मलङ्गवा बजारमा पहिलेकोजस्तो चहलपहल छैन् । हरिपूर्वा नगरपालिका –५, निवासी ७१ वर्षीय रामपवित्र रायले राजमार्ग क्षेत्रमा चौतर्फी बस्ती विकास हुँदै गए पनि ग्रामीण भेगका पुराना हाटबजार ओझेलमा पर्दैगएको बताउनुभयो । 

“पहिले त राजमार्ग क्षेत्रका मानिसहरु हाम्रोतिर हाटबजार गर्न आउँथे, अहिले हामी नै बयलवास वा मलङ्गवा तथा राजमार्ग क्षेत्रमा बजार भर्न पुग्नुपर्छ,” रायले भन्नुभयो, “दुई दशकमा यस क्षेत्रको अवस्था निकै फेरिएको छ । धेरै ईतिहास र प्रमाण मेटिँदै गएको छ ।”

जिल्लामा पहिलेका प्रसिद्ध बजारक्षेत्र अहिले ग्रामीण बस्तीमा परिणत भइसकेका छन् । हरिपुर नगरपालिकास्थित चितायन निवासी स्थानीयवासी एवम् शिक्षक चेतनारायण धामीले ऐतिहासिक महत्व बोकेका धेरै ठाउँहरु ओझेलमा परिसकेको बताउनुभयो । 

धामीकाअनुसार ऐतिहासिक महत्व बोकेको चितायन अहिले ओझेलमा परिसकेको छ । “पहिले यहाँ एक महिनासम्म मेला लाग्थ्यो, त्यही मेलामा आएर जिल्लाभर र पहाडी जिल्ला तथा छिमेकी मुलुक भारतका स्थानीय समेत आएर वर्ष दिनभरी खान पुग्ने खाद्यान्न किनेर लान्थे, अहिले त्यो अवस्था छैन्, वर्षमा दुई–चार दिन मात्रै मेला लाग्छ, जिल्ला बाहिरका मान्छे आउनै छाडिसकेका छन्” धामीले भन्नुभयो ।

लालबन्दी नगरपालिका –७, निवासी रङ्गनाथ पराजुलीले दस वर्षको अन्तरालमा लालबन्दीको अवस्था निकै फेरिएको बताउनुभयो । बजारको विस्तार र सेवा सुविधा सहज भएपछि लालबन्दीमा जिल्लाभरबाट मानिस बसाइँसराइ गरेर आउनेक्रम तीव्र भएको पराजुलीले बताउनुभयो । 

ग्रामीण भेगका हाटबजार ओझेलमा परेपनि यहाँको प्रमुख व्यापारिक केन्द्र लालबन्दी र हरिवन बजारको भने तीव्र रुपमा विकास भइरहेको छ । बजार र बस्ती विकास भएसँगै यहाँ घर जग्गाको कारोवार बढेको छ ।