बाजुरा समाचारदाता
बाजुरा, वैशाख २० गते । बाजुरामा सञ्चालनमा हुँदै आएका नेपाली हाते कागज उद्योग पछिल्लो समय सङ्कटमा परेका छन् । बिक्रीका लागि जिल्लामै बजार नपाउनु तथा स्थानीय तहले अनुदानका कार्यक्रम नहुँदा पछिल्लो समय जिल्लामा सञ्चालन हुँदै आएका नेपाली हाते कागज उद्योग सङ्कटमा पर्न थालेका हुन् ।
यहाँ उत्पादन हुने गरेका अन्य वस्तुले गाउँमै बजार पाउने गरेको भए पनि नेपाली हाते कागज बेच्न भने निकै समस्या रहेको छ ।
बजारको समस्या भएकै कारण यहाँका केही उद्योग पछिल्लो समय बन्द हुँदै गएका छन् । घरेलु कार्यालयमा एक दर्जन नेपाली हाते कागज उद्योग दर्ता भएको भए पनि अहिले चार वटा मात्र सञ्चालनमा छन् । जसमा हिमाली गाउँपालिका–१ को विच्छ्या, बुढीनन्दा नगरपालिका–९ को पाण्डुसैन, गौमूल गाउँपालिका–१ को भौनरा र त्रिवेणी नगरपालिका–६ को पन्धारामा नेपाली हाते कागज उद्योग सञ्चालनमा छन् ।
बडुको लोक्ताबाट यो कागज उत्पादन गरिन्छ । उद्योगले कागज उत्पादनका लागि कच्चा पदार्थ गाउँमै पाउने गरेको भए पनि बिक्रीका लागि भने जिल्लाभन्दा बाहिर लैजानुपर्ने समस्या रहेको छ ।
उत्पादन गरिएको कागज बिक्री नहुँदा यहाँका अधिकांश उद्योग निकै सङ्कटमा पर्ने गरेका हुन् । यहाँका केही उद्योग फाटफुट रूपमा सुचारु हुने गरेको भए पनि अरू आठ उद्योग भने अझै बन्द अवस्थामा छन् । गाउँमा उत्पादन गरेको नेपाली हाते कागजले बजार नपाउँदा बिक्रीमा समस्या हुने गरेको त्रिवेणी नगरपालिका–६ का प्रतिभा नेपाली हाते कागजका सञ्चालक धना थापाले बताउनुभयो ।
उहाँले गाउँमै कच्चा पदार्थ सहज रूपमा पाए जस्तै बजारको व्यवस्था पनि भइदिएको भए पनि नेपाली हाते कागज उद्योगलाई सञ्चालन कुनै समस्या नहुने बताउनुभयो ।
पहिला कागज कसरी उत्पादन गर्ने भन्ने चिन्ता हुन्छ । कागज उत्पादन गरी सकेपछि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता हुने गरेको थापाले बताउनुभयो ।
यहाँ लोक्ता खरिद गर्दा एक केजीको १२० रुपियाँ पर्छ । त्यसको ढुवानी गर्दा पाँच रुपियाँ लाग्छ । अलि टाढाबाट खरिद गरेमा १० देखि २० रुपियाँ पर्छ ।
अहिले आफ्नो उद्योगबाट वर्षमा दुई सयदेखि तीन सय कोरी कागज उत्पादन हुने गरेको उहाँको भनाइ छ । एक कोरीमा झन्डै दुई सय पिस कागज हुन्छन् । एक कोरीमा छ हजार पाँच सयदेखि सात हजार रुपियाँसम्म बिक्री गर्ने गरेको छु ।
यहाँ एक दर्जन नेपाली हाते कागज उद्योग दर्ता भएका छन् । यहाँ नौ वटा स्थानीय तह छन् । यी सबै स्थानीय तहको दैनिक कामकाजमा नेपाली हाते कागज अनिवार्य गरिदिएको भए पनि यहाँ उत्पादन भएको नेपाली हाते कागजले गाउँमै बजार पाउने थियो तर यहाँका स्थाानीय तहमा नेपाली हाते कागजको कम प्रयोग हुन्छ ।
यहाँका स्थानीयले उत्पादन गरेको कागजलाई यतै प्रयोग गर्ने गरेर केही यहाँ जन्म, विवाह, मृत्युदर्ता तथा कुनै न्याय समितिका कामका लागि आउने तथा पर्ने गरेका निवेदनमा नेपाली हाते कागजको प्रयोग गर्ने योजना रहेको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी साहले बताउनुभयो ।