• ४ जेठ २०८१, शुक्रबार

राष्ट्रियसभामा चार प्रतिवेदन पेस

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २५ गते । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गर्नुभएको हो ।

यसैगरी, राष्ट्रियसभाका सांसद जगप्रसाद तिमिल्सिनाले सङ्घीयता सुहाउँदो निर्वाचन प्रणाली हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सङ्घीयता सुहाउँदो पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुँदा भ्रष्टाचार न्यूनीकरण हुने उहाँले तर्क गर्नुभयो ।

सांसद भगवती न्यौपानेले नेपालको परराष्ट्र नीतिको सम्बन्धमा सरकारको प्रस्ट धारणा हुनुपर्ने माग गर्दै यसका बारेमा सबै राजनीतिक दलहरुको सल्लाह सुझाव लिएर सन्तुलित नीति अवलम्बल गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कृष्णप्रसाद पौडेलले मुलुकको समग्र विकासको आधार मानिने शिक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले समृद्ध, समतामूलक, सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्ने शिक्षाको आवश्यकता औँल्याउँदै सीपमूलक, ज्ञानमूलक र उत्पादनशील शिक्षा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अत्यन्त कमजोर छ, देशको आवश्यकताका आधारमा शिक्षा प्रणाली हुनुपर्छ ।”

राष्ट्रियसभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ ।