चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १९ गते। ताप्लेजुङका सामुदायिक विद्यालयहरू शुक्रबारदेखि खुलेका छन्। नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण बन्द रहेका सामुदायिक विद्यालय खुल्न थालेका हुन् । विद्यालय खुलेसँगै विद्यार्थी भर्ना अभियान र पठनपाठनको क्रियाकलाप सुरु भएको विद्यालयहरूले जनाएका छन् ।
नयाँ शैक्षिक सत्र सुरु भएको तीन सातापछि सामुदायिक विद्यालय खुलेका हुन्। गत चैत २० गतेदेखि महासङ्घले काठमाडौंमा गरेको सडक आन्दोलनका कारण जिल्लाका सामुयिक विद्यालयहरू ठप्प भएका थिए। आन्दोलन सुरु भएको २८ दिनपछि सरकार र शिक्षक महासङ्घबिच बुधबार भएको वार्तामा सहमति जुटेपछि धमाधम विद्यालय खुल्न थालेका हुन्।
हालसम्म विद्यालय ठप्प हुँदा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुन सकेको थिएन भने भर्ना अभियान पनि प्रभावित भएको थियो। शुक्रबारदेखि विद्यालय खुलेसँगै जिल्लाभरका सामुदायिक विद्यालयले भर्ना अभियान, पाठ्यपुस्तक वितरण र पठनपाठनका गतिविधिलाई सुरु गरेका बताइएको छ। विद्यालय खुलेपछि विद्यार्थी पनि आउन थालेका फुङ्लिङ नगरपालिका–७ दोखुस्थित शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक कमलप्रसाद भट्टराईले बताउनुभयो।
प्रधानाध्यापक भट्टराईका अनुसार अभिभावकलाई सम्पर्क गरी विद्यालय खुलेकोबारे सूचना दिइएको र सोहीअनुसार विद्यार्थी आउन थालेका हुन्। उहाँले शिक्षकको आन्दोलनका कारण शैक्षिक क्षेत्रमा पुगेको क्षति आउँदो असारको बिदा नगरी विद्यालय सञ्चालन गरेर पूर्ति गर्ने योजना रहेको बताउनुभयो। यस्तै फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमस्थित सिँवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले शिक्षक आन्दोलन स्थगित भएसँगै विद्यालय खुलेको जानकारी दिनुभयो। विद्यालय खुलेपछि विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण र पठनपाठन एकसाथ सुरु गरिएको प्रधानाध्यापक गौतमले बताउनुभयो।
यता जिल्लाभरका विद्यालय खुलेपछि अभिभावक र विद्यार्थीमा खुसीयाली छाएको पाइएको छ। भर्ना अभियान र पठनपाठन सुरु गर्ने बेलामा करिब एक महिनासम्म विद्यालय बन्द हुँदा अभिभावक र विद्यार्थी निराश भएका थिए । शुक्रबारदेखि खुलेको विद्यालय अबदेखि निरन्तर खुल्नेमा अभिभावक र विद्यार्थी ढुक्क छन्। शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख युगमणि सबेहाङका अनुसार विद्यालय नखुल्दा पठनपाठन मात्र नभई अन्य शैक्षिक गतिविधिसमेत ठप्प बनेको थियो।
ताप्लेजुङमा ३४३ वटा सामुदायिक विद्यालय रहेका छन्। उक्त सङ्ख्यामध्ये कक्षा १–५ सञ्चालित २०७ वटा, कक्षा ६–८ सञ्चालन भएका ६७ र कक्षा ९–१० सञ्चालित ६९ वटा विद्यालय रहेका छन्। त्यस्तै कक्षा ११–१२ सञ्चालन भएका ३२ वडा सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी एवम् प्राविधिक सहायक रामनारायण चौधरीले जानकारी दिनुभयो। चौधरीका अनुसार शैक्षिक वर्ष २०८१ मा जिल्लामा १४ हजार ९४६ छात्रा र १५ हजार ४५१ छात्र गरी कुल ३० हजार ३९७ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययरत थिए।