• २० वैशाख २०८२, शनिबार

ओडिसा घटना : शव बुझ्न परिवार भारत प्रस्थान

blog

सर्लाहीको कविलासीस्थित मृतक प्रिसा साहको घर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, वैशाख १९ गते ।
भारतको ओडिसामा मृत्यु भएको प्रिसा साहको शव बुझ्न परिवार शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ । सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बिहीबार बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

कलेज प्रशासनले बिहीबार राति ९ बजे प्रिसाको मृत्यु भएको जानकारी गराएपछि उहाँको बुवा श्यामप्रसाद साह, आमा पिङ्की साह र भाई गौरवकुमार साह शुक्रबार बिहान ६ बजे ओडिसातर्फ हिँडेको प्रिसाका ठुलोबुवा कमलदेव प्रसाद साहले जानकारी दिनुुभयो ।

कमलदेवका अनुसार प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेन्ड सेमेस्टरमा अध्ययनरत हुनुहुन्थ्यो । बिहीबार दिउँसो ३ बजेतिर परिवारका सदस्यले प्रिसासँग टेलिफोनमा कुराकानी गरेका थिए ।

दिउँसो फोनमा कुरा गर्दा प्रिसाले आफू ठीक रहेको बताए पनि राति एक्कासी मृत्युको खबर आएको ठुलोबुवा कमलदेवले बताउनुभयो । “दिउँसोसम्म फोनमा बोल्दा राम्रो छ भन्थिन् तर राति त एक्कासी मृत्युको खबर आयो,” ठुलोबुवा कमलदेवले भन्नुभयो, “ठीकठाक छु भनेको मान्छेले के गरी यस्तो घटना भयो हामी पनि अच्चमित भएका छौँ ।”

प्रिसाले परीक्षा सकेर दुुई सातापछि अर्थात् मे १८ तारिखमा आफू घर आउने भनी परिवारसँग भन्नुभएको थियो । उहाँ गएको फागुनमा सोही कलेजमा पढ्ने विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनापछि घर आउनुभएको थियो ।

कलेजले नै फोन गरेर बोलाएपछि प्रिसा दुई हप्ता घरमा बसेर अन्य साथीसँगै पुनः ओडिसा फर्किनुभएको ठुलो बुवा कमलदेवले बताउनुुभयो । कलेजले नै टिकटको व्यवस्था गरेर प्रिसासहितका व्यक्तिलाई फिर्ता बोलाएको थियो ।

प्रिसाको परिवारमा बुवा, आमा र भाइ मात्रै रहेका छन् । प्रिसाको मृत्युपछि उहाँहरू तीनै जना शुक्रबार बिहान घरमा ताला लगाएर शव बुझ्न ओडिसातर्फ लाग्नुभएको हो ।

उहाँहरू यहाँदेखि पटनासम्म स्थलमार्ग र त्यहाँदेखि ओडिसासम्म हवाई मार्गमार्फत जाने बुुझिएको छ । कविलासी नगरपालिका ८ का वडाध्यक्ष वीरेन्द्रप्रसाद साहले प्रिसाको मृत्युको खबरपछि गाउँ शोकमग्न बनेको जानकारी दिनुभयो ।

प्रिसाको मृत्युुबारे आफूहरूले सञ्चारमाध्यममा आएका समाचारबाट जानकारी पाएको वडाध्यक्ष साहले बताउनुुभएको छ । “बिहानै म भेट्न आउँदा उहाँहरू (मृतक प्रिसाको परिवार) इन्डियाका लागि हिँडिसक्नु भएको रहेछ,” वडाध्यक्ष साहले भन्नुभयो, “बारम्बार त्यो कलेजमा किन उही खालको घटना भइरहेको छ, यसमा छानबिन गर्नु आवश्यक छ ।”  

ओडिसा टाढा पर्ने भएकाले त्यहाँदेखि शव ल्याउन झन्झट हुने भएकाले सम्भवत् प्रिसाको शव उतै दाहसंस्कार हुन सक्ने आफन्तजनले बताएका छन् ।