रमेश विश्वकर्मा
गुल्मी, वैशाख १९ गते । नेपाल औषधी व्यवसायी सङ्घ गुल्मी शाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । रेसुङ्गा नगरपालिका–७ साखिने डाँडामा नवनिर्मित उक्त भवनको एक औपचारिक कार्यक्रमका बिच नेपाल औषधी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल औषधी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष खण्डेलवालले राज्यले अर्थतन्त्र र व्यवसायलाई बुझ्न नसकेको बताउनुभयो । राज्यले मजबुत बिमा कोष नबनाई बिमा कार्यक्रम सञ्चालन गर्दा अहिले भुक्तानीमा समस्या आएको बताउनुभयो । व्यवसायीको लगानीको सुरक्षा राज्यले दिनुपर्नेमा नीजि क्षेत्रप्रति राज्य अनुदार देखिएको भन्दै उहाँले सरकारी संयन्त्रले वाणिज्य र अर्थतन्त्र नबुझेको बताउनुभयो । औषधी व्यवसायीलाई परेका अप्ठ्यारालाई समाधानका लागि केन्द्रीय तहमा नीतिगत सुधार गर्न गृहकार्य गरिएको बताउनुभयो ।
औषधी व्यवसाय अत्यन्तै संवेदनशील व्यवसाय भएको भन्दै आचारसंहिता र कानुन पालना गरी व्यवसाय सञ्चालन गर्न जरुरी रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । जनगुनासाका आधारमा मात्रै औषधी व्यवसायको अनुगमन गर्ने गरिएको भन्दै उहाँले निजि क्षेत्रलाई चिडाएर राज्य अगाडि बढ्न नसक्ने हुँदा आवश्यक सहजीकरण जरुरी रहेको बताउनुभयो । नवनिर्मित भवन नेपाल औषधी व्यवसायी सङ्घ केन्द्र, प्रदेश, लुम्बिनी प्रदेशका जिल्ला शाखा र औषधी व्यवसायीहरूको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
करिब ४० लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको कोषाध्यक्ष अनन्तराज अधिकारीले जानकारी दिनुभयो । त्यस अवसरमा भवन निर्माणका लागि पाँच हजारदेखि दुई लाख ५५ रुपियाँसम्म सहयोग गर्ने औषधी व्यवसायीहरूलाई सम्मान गरिएको हो । लुम्बिनी प्रदेश सदस्य लोकहरि श्रेष्ठले ५५ हजार ५५५ रुपियाँको चेक नेपाल औषधी व्यवसायी सङ्घ गुल्मी शाखाका अध्यक्ष फर्शुराम पाण्डेलाई हस्तान्तरण गर्नुभयो ।