ज्योति पन्थी
बबई (बर्दिया), वैशाख १९ गते । नेपालमा सडक निर्माणका लागि ठेक्का हाल्ने र काम नगर्ने परिपाटी पुरानो बन्दै जान थालेको छ । त्यही परिपाटीको चपेटामा परेको छ बर्दियाको गुलरिया नेपालगन्ज सडकखण्डको जिल्ला प्रहरी कार्यालयदेखि भादापुलसम्मको सडक ।
२०७४ चैत २९ गते गजुरमुखी निर्माण सेवाले सडक डिभिजन कार्यालय बाँकेसँग ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि निर्माण व्यवसायीको लापरबाहीका कारण पनि सडकले पूर्णता पाउन नसकेको हो । गुलरियामा २२ सय मिटर सडक निर्माण गर्न २१ करोड ४९ लाख ३३ हजार पाँच सय ७३ रुपियाँमा गजुरमुखी निर्माण सेवाले जिम्मेवारी लिएको भए पनि काम पूरा नगरेका कारण सडक अहिले पनि अलपत्र छ भने सडकमा प्रयोग गरिएका सामग्री समेत गुणस्तरहिन छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको मुख्य गेटदेखि भादापुलसम्मको मुख्य बजार क्षेत्रमा नै पर्ने गुलरियाको सडकमा डिभाइडरको दुई तर्फ ढल निकासका लागि नालासहितको १२–१२ मिटर सडक निर्माण गर्नुपर्ने भए पनि निर्माण गरिएको नालामा ढक्कन समेत नलगाउँदा दैनिक जसो सर्वसाधारणमो नालामा खस्ने गरेको गुलरिया नगरपालिका वडा नं.६ जिल्ला प्रहरी कार्याल्य बर्दियाको अगाडि व्यापार गर्दे आउनुभएका अरुण गुप्ताले बताउनुभयो ।
ढक्कन नभएको नालामा खसेर कतिका हात खुट्टा भाचिए आठ वर्षको समयमा धेरै परिवर्तन भयो तर दुई हजार मिटर सडकले पूर्णता पाएको छैन । सडक निर्माण गर्नका लागि कति आन्दोलन भए तर निर्माण व्यवसायीको अटेरीका कारण कसैको केही लागेन सडकको आधाजसो काम अलपत्र छ स्थानिय व्यापारी कृष्ण चौधरीले बताउनुभयो ।
तीन वर्षको समयावधि राखेर ठेक्का आह्वान गरिएको भए पनि उत्त सडक आठ वर्षसम्म पनि अलपत्र छ । सडकमा लगाइएको डिभाइटर समेत कमसल खालको छ भने कमसल खालको डिभाइडर प्रयोग गरिएको चौतर्फी गुनासो हुन थालेपछि डिभाइडरको काम रोकिएको पनि वर्षौ बितिसक्यो, तर सडकले पूर्णता पाउन सकेन बनेका नालाहरूमा समेत ढक्कन छैनन् जसले गर्दा दुर्घटना समेत बढने देखिएको छ ।
पटक–पटक काम गर्नका लागि म्याद थप गरिएको र पत्र काटेको भए पनि गजुरमुखी निर्माण सेवाले काम नगर्दा सडक डिभिजन कार्यालय बाकेले उक्त कामको ठेक्का सम्झौता तोडेको सडक डिभिजन कार्यालय बाकेका प्रमुख नरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले ठेक्का तोड्यौ निर्माण व्यवसायी अदालत गएको भन्नेसम्म जानकारी छ, तर कुनै आधिकारीक सूचना छैन त्यसैले पर्खिरहेका छौं । समयमा काम नगर्ने र अदालत जाने निर्माण व्यवसायीको बानीका कारण अहिले पनि बर्दियावासीले दुःख बेहोर्नुपरेको छ ।’’