• २० वैशाख २०८२, शनिबार

ताकमगाउँमा चलचित्र ‘माइतीघर’को छायाङ्कन

blog

म्याग्दी (बेनी), वैशाख १९  गते । गुर्जा चुरेन र धौलागिरि हिमालको लस्करलाई नजिकबाट देख्न सकिने म्याग्दीको पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’ को छायाङ्कन सुरु गरिएको छ । धवलागिरि गाउँपालिका–७ ताकमगाउँ धौलागिरि पदमार्गअन्तर्गत पहिलो पर्यटकीय बस्तीका रूपमा परिचित छ । यहाँ पहिलोपटक चलचित्रको छायाङ्कन गर्न थालिएको हो । 

गाउँमा ठुलो पर्दाको चलचित्र छायाङ्कन गर्न निर्माता र कलाकारहरूको टोली आएपछि स्थानीयवासीले बाजागाजा र नाचगान गरेर स्वागत गरेका छन् । त्यस अवसरमा स्थानीय मन्दिरमा पूजापाठ गरेर धवलागिरि गाउँपालिका अध्यक्ष प्रेम पुनले र वडाध्यक्ष अशोक खत्रीले छायाङ्कन कार्यको शुभारम्भ गर्नुभयो ।  

चक्रिय धौलागिरि पदमार्ग, गुरिल्ला पदमार्ग र ढोरपाटन जलजला जाने पदमार्गले समेटिएको यस गाउँमा चलचित्रको छायाङ्कनले देश–विदेशमा परिचित गराउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । आँखै अगाडि ठोकिन आउने हिमाल र परम्परागत ढुङ्गे घरहरूमा मिलेर बसेको ताकमगाउँ मनमोहक देखिन्छ । चलचित्रका निर्माता रोहित अधिकारीले छायाङ्कन गरिने ४० दिनमध्ये २० दिन ताकम र धारापानीगाउँमा छायाङ्कन हुने छ भने बाँकी दृश्य म्याग्दीकै दरबाङ, तातोपानी क्षेत्रमा छायाङ्कन गरिने जानकारी दिनुभयो ।

आगामी दसैँको फूलपातीमा प्रदर्शनमा ल्याउने लक्ष्यसहित छायाङ्कन सुरु गरिएको चलचित्रमा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देललगायत कलाकारको प्रमुख अभिनय रहेको छ ।

मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायाङ्कन सुसन प्रजापतिले गर्नुहुने जनाइएको छ । रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा अधिकारी, रबिन शेरचन र धीरज तामाङ रहनुभएको छभने कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुनुहुन्छ । रासस