स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख १९ गते । बागमती प्रदेश युवा परिषदले आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म ‘प्रदेश युवा सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ । गत २०८० सालदेखि निरन्तर आयोजना हुँदैआएको यो सम्मेलन परिषदको तेस्रो शृङ्खला हो ।
प्रदेशभरबाट छनोट गरिएका तीन सय ५० युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुने छन् भने लाखौं युवालाई वेबसाइट, राष्ट्रिय टेलिभिजन र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सहभागितामा ल्याउने तयारी भइरहेको छ ।
युवा अन्तरसंवादको थलो
प्रदेश युवा परिषद बागमतिका अपाध्यक्ष सन्तोष चौंलागाइका अनुसार युवा अध्ययन, रोजगारी र सीपका लागि देश–विदेशमा अवसरको खोजीमा लागिरहेको बेला उनीहरूलाई सरकारसँग जोड्ने उद्देश्यले सम्मेलनको अवधारणा ल्याइएको हो ।
‘सीप सिकेका युवालाई दक्ष जनशक्ति बनाएर स्वदेश वा विदेशमा उचित अवसर पाउन सजिलो बनाउने उद्देश्यले हामीले सरकार र युवाबिच अन्तरसंवादको थलो बनाउने काम थालेका हौं’ उहाँले भन्नुभयो ।
सरकार र युवाबिचको दूरी घट्ने
तेस्रो शृङखलासम्म आइपुग्दा सम्मेलनले सरकार र युवा दुवैमा सकारात्मक प्रभाव पारेको बताइन्छ । राजनीतिप्रति निराश भएका युवाले समेत नीति निर्माणमा आफनो सहभागिताको महत्त्व बुझन थालेको उहाँले बताउनुभयो । ‘सरकारले युवा सीप वर्ष २०८१ घोषणा गर्नुमा पनि सम्मेलनको भूमिका महत्त्वपूर्ण रहेको छ’ परिषदको तथ्याङ्क अनुसार १० हजार पाँच सय भन्दा बढी युवा दक्ष जनशक्ति तयार छ ।
सम्मेलनले युवालाई नीतिगत छलफलमा सहभागी गराउँदै स्थानीय र प्रदेश सरकारसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको छ । मुख्यमन्त्री, मन्त्रीहरू, जनप्रतिनिधि तथा उच्च पदस्थ अधिकारीको उपस्थिति रहने प्रत्येक सत्रमा युवाले आफनो सुझाव राख्ने मौका पाउने छन् ।
यसअघि भएका सम्मेलनबाट उठेका सुझावका आधारमा जिल्ला तहमा युवा नीतिहरू परिमार्जनसमेत भएका छन् । प्रदेश सरकारको उच्च प्राथमिकतामा युवा सम्मेलन बागमती प्रदेश सरकारले सम्मेलनलाई आफनो वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गर्दै बजेटसमेत छुट्याएको छ ।
सम्मेलनको घोषणापत्रलाई आधार मानेर ‘युवा सीप वर्ष २०८१’ अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालनमा छन् । सम्मेलन प्रस्ताव अगाडि बढाउने क्रममा परिषदले २०७८ सालमा गरेको सर्वेक्षणमा ७ सय ५० युवाले नीति संवादको प्लेटफर्मको अभाव अनुभव गरेको बताएका थिए ।
सम्मेलन युवाका लागि व्यावहारिक लाभ
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायतका विषयमा कार्यशाला सत्र आयोजना हुनेछ । परिषदको प्रतिवेदनअनुसार दोेस्रो शृङ्खलामा सहभागीमध्ये ४ सय ५ युवाले कार्यक्रमपछि आफ्नै उद्यम सुरु गर्ने प्रेरणा पाएका थिए । उपाध्यक्ष चौंलागाईं भन्नुभयो, ‘आगामी प्रदेश युवा सम्मेलन बागमतीको दीर्घकालीन युवा सशक्तीकरण कार्यक्रमको रूपमा संस्थागत हुने छ ।’