सुजल श्रेष्ठ
प्युठान, वैशाख १९ गते । जिल्लामा पछिल्लो समय रक्तदान गर्ने व्यक्ति बढ्दै गएका छन् । विभिन्न सामाजिक सङ्घ संस्थाहरूले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्न थालेका हुन् ।
जिल्लामा रक्त सञ्चार सेवा केन्द्र स्थापना भएदेखि रक्तदान गर्ने व्यक्ति बढ्दै गएका हुन । त्यसका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजले समन्वय र सहयोग गर्दै आएको छ । रक्तदान गर्नेहरूमा युवाहरू धेरै छन् ।
समाजका अध्यक्ष मनु लामाले जिल्लामा बिरामीलाई आवश्यक पर्ने रगत जुटाउन निरन्तर खट्दै आएको बताउनुभयो । समितिले आवश्यक रगतका लागि विभिन्न व्यक्ति, सेना, प्रहरीसँग समन्वय गरेर रगतको अभाव हुन नदिएको बताउनुभयो । “अहिले रगत दिनुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “विगतका दिनहरू भन्दा अहिले रक्तदाता बढेका छन ।”
२०६८ वैशाख २५ गते आकस्मिक रक्त सञ्चार सेवा केन्द्र स्थापना भएको हो । ०७३ जेठ १५ देखि ब्लड बैँकको रूपमा सेवा थालेको नेपाल रेडक्रस सोसाइटी प्युठानका सभापति गुमानराज पुलामीले जानकारी दिनुभयो ।
केन्द्र स्थापनाले जिल्ला अस्पतालको सेवा प्रवाहमा समेत सहजता थपिएको छ । शल्यक्रिया गरेर सुत्केरी गराउन ब्लड बैँकले सहयोग गरेको छ । जिल्लामा वार्षिक सरदर पाँच सय पिन्ट रगत खपत हुने गरेको छ । रक्तसञ्चार केन्द्र सञ्चालनमा भने आर्थिक समस्या झेल्नुपरेको सभापति पुलामीले बताउनुभयो । “ब्लड बैँक सञ्चालनका लागि स्थानीय सरकारसँग सहयोग माग गर्दै आएका छौं,” उहाँले भन्नभयो, “आगामी वर्षका लागि बजेट माग गर्दै पालिकाहरूमा पुगिरहेका छौँ ।”