• १९ वैशाख २०८२, शुक्रबार

राष्ट्रपति पौडेल लमजुङ आउनुहुँदै

blog

राष्ट्रपति रामचन्द्र पौडेल

नवीनराज कुइँकेल
लमजुङ, वैशाख १९ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडामा निर्माणाधीन “राष्ट्रकवि माधव घिमिरे पार्क” र शालिक अनावरणका लागि लमजुङ आउनुहुने भएको छ ।

नेपाली साहित्यका धरोहर राष्ट्रकवि माधव घिमिरेको जन्मथलो बाहुनडाँमा निर्माण गरिएको पार्क उद्घाटनका लागि राष्ट्रपति पौडेल वैशाख २१ गते लमजुङ आउनुहुने भएको हो । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिले सो कार्यक्रममा राष्ट्रपतिसहित विशिष्ट अतिथिहरूको उपस्थिति रहने जानकारी दिएको छ । साथै, राष्ट्रकवि घिमिरेको योगदानलाई राष्ट्रिय गौरवको रूपमा स्थापित गर्दै यो पार्कलाई साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्य रहेको प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेले बताउनुभयो ।

राष्ट्रकवि घिमिरेले नेपाली साहित्यमा पुर्‍याएको योगदान अतुलनीय रहेको र त्यही योगदानको स्मृति र सम्मानस्वरूप घिमिरेको जन्मथलोमा पार्क निर्माणको काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कको भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ र वैशाख २१ गते राष्ट्रपतिबाट समुद्घाटन गरिने छ ।


राष्ट्रकवि माधव घिमिरेको जन्म वि.सं. १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको मर्स्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । नेपाली साहित्यमा गम्भीर साधनारत रहनुभएका घिमिरेले कविता, गीत, गीतिनाटक, निबन्ध, नाटक, बालसाहित्य लगायतका विधामा विशिष्ट योगदान दिनुभएको थियो । जीवनकालभरि उहाले साहित्य सेवामार्फत राष्ट्रिय भावनालाई सशक्त बनाएका थिए । “गौरी”, “मालती मंगले”, “राजेश्वरी”, “अन्तरक्रिया”, “भारती”, “शकुन्तला” लगायतका कृतिहरू आज पनि नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन् ।

गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट २० लाख, गण्डकी प्रदेशकै सामाजिक बिकास मन्त्रालयबाट चार लाख र मर्स्याङ्दी गाउँपालिकाबाट तीन लाखको सहयोगमा पार्कको संरचना निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका सचिव विष्णु गुरुङले बताउनुभयो । कार्यक्रममा राष्ट्रपतिद्वारा शालिक अनावरण तथा पार्क उद्घाटनको कार्य सम्पन्न हुनेछ भने सोही दिन बिहान कबि गोष्ठी लगायतका साहित्यिक कार्यक्रमहरू पनि आयोजना गरिएको छ ।

यो पार्क राष्ट्रकवि घिमिरेको जीवन दर्शन, सृजनात्मक साधना र राष्ट्रिय योगदानको प्रतीकको रूपमा स्थापित हुनेछ । आगामी दिनमा यसलाई साहित्यिक अनुसन्धान, अध्ययन, भ्रमण र सांस्कृतिक गतिविधिका लागि उपयुक्त गन्तव्य बनाउने योजना रहेको आयोजक बताएको छ ।