हुम्ला समाचारदाता
हुम्ला, वैशाख १९ गते । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा हुम्लाका श्रमिकले ज्यालादर न्यून पाएको गुनासो गरेका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले तोकिएको दररेटभन्दा पनि कम ज्याला गुनासो गरेका हुन् ।
अदानचुली गाउँपालिका–५ को बारीगाउँका जगवीर शाहीले सार्वजनिक विकास वा व्यक्तिगत काम गर्नुपर्दा जिल्ला दररेटभन्दा कम ज्याला पाउने गरेको बताउनुभयो । उहाँले गाउँपालिकाभर दैनिक मजदुरी काम गरेर जीवन निर्वाह गर्ने मजदुरले एक दिनमा आठदेखि नौ सय रुपियाँ पाउने गरेको जनाउनुभयो । जबकि आर्थिक वर्ष २०८१/८२ मा दैनिक ज्यालादारी मजदुरको ज्याला एक हजार १५० रुपियाँ निर्धारण गरिएको छ । महँगी बढिरहेका कारण हाल प्राप्त गर्दै आएको ज्यालाले परिवार पाल्न कठिन हुने गरेको गुनासो उहाँको छ ।
ताँजाकोट गाउपालिका–३, कृष्ण कामीले दिनभर मजदुरी गरे पनि ज्यालादर कम पाउने गरेको बताउनुभयो ।
उहाँले दैनिक आठ सयदेखि एक हजार रुपियाँसम्म ज्याला पाउने गरेको बताउँदै ज्याला कम भएको गुनासो गर्दा ‘काम गर्न नआउँदा हुन्छ’ भन्ने जवाफ पाएको जनाउनुभयो । रोजगारी पाउनका लागि जति कम दिएपनि काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
त्यसै गरी चङ्खेली गाउँपालिका–४ की बखत शाहीले दिनभरि काम गर्दा नौ सय रुपियाँ ज्याला पाउने गरेको बताउनुभयो ।
ज्याला कम भएको गुनासो गाउँपालिकासम्म पुर्याउँदा पनि सुनुवाइ हुन नसकेपछि जति दिए पनि काम गर्नु विकल्प नभएको उहाँले बताउनुभयो । एक दिनमा ज्यालादारी मजदुरले पाउने ज्यालादरसमेत भर्खर जानकारी पाएको भन्दै उहाँले त्यसलाई कार्यान्वयन गर्ने निकाय सक्रिय हुनुपर्ने माग गर्नुभयो ।
जिल्ला दररेटलाई कार्यान्वयन गर्ने नियमनकारी निकाय भने बेखबर छन् । ती निकायले यसबारेमा कुनै उजुरी वा जानकारी नआउँदा त्यसबारे खोजबिन गर्न नसकिएको जनाएका छन् ।