काठमाडौँ, वैशाख १८ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले आयोजना गरेको बृहत् खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
राष्ट्र बैँकलगायत विभिन्न स्रोतका तथ्याङ्कहरूले अर्थतन्त्र विस्तारै सुधारको क्रममा रहेको स्पष्ट पार्ने बताउनुभयो । उहाँले कार्यक्रममा नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले स्थानीय व्यापारीहरूको हितका लागि सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्नुहुँदै मन्त्री सिंहले यस्ता अभियानले सामाजिक उत्तरदायित्व निर्वाह गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सेवाको पहुँच अभाव भइरहँदा निःशुल्क स्वास्थ्य शिविरको महत्त्व झनै बढेको मन्त्री सिंहको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘नेपालको अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक हुँदै गएका छन् । समाचारका आधारमा मात्र नभई राष्ट्र बैँकदेखि सबैको तथ्याङ्क हेर्यौं भने अर्थतन्त्र लय समाउने दिशातर्फ हिँडिरहेको छ । व्यापारीको हितका लागि काम गरिरहेको नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घ लागेको छ । बिरामीको आकस्मिक उपचारका लागि काठमाडौँ फ्रि हेल्थ क्याम्पले सहयोग गर्ने छ ।’’
आम नागरिकले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य शिविरहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले यस्ता शिविरहरू देशभर आयोजना गर्नुपर्ने बताउनुभयो ।