• १८ वैशाख २०८२, बिहिबार

निर्माण सम्पन्न नुहँदै अलपत्र बर्थिङ सेन्टर

blog

अलपत्र अवस्थामा रहेको रास्कोट नगरपालिका–८ को बर्थिङ सेन्टर । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, वैशाख १८ गते । कालीकोटको रास्कोट नगरपालिका–८ मा निर्माणाधीन स्वास्थ्य भवन अलपत्र परेको छ । सुरक्षित सुत्केरी गराउन निर्माण सुरु भएको वडा ८ को बर्थिङ सेन्टर निर्माण सम्पन्न नहुँदै अलपत्र परेको हो । 

अघिल्लो सरकारले २०७८–७९ सालमा निर्माण सुरु गरेको थियो । स्थानीय उपभोक्ता समितिमार्फत काम सुरु भएको थियो । निवर्तमान नगर प्रमुख काशीचन्द बरालले प्रदेशको बिशेष अनुदानबाट बजेटको व्यवस्थापन गरेर कामको सुरुवात गरेको भए पनि पछिल्लो वर्षको बजेट फिर्ता पठाएर भवन निर्माण अलपत्र पारेको बताउनुभयो । हामीले सुरु गरेका योजना अहिले अलपत्र पारिदै छ । 

तत्कालीन स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बरालले २०७९ सालमा ३५ लाख बजेट आएको  जग्गा अभाव लगायतका विषयले समयमा काम सुरु नहुँदा १५ लाख बजेट खर्च नभएर फिर्ता गएका कारणले भवन अधुरै रहेको बताउनुभयो । 

स्थानीय यसोदा बरालले वर्तमान नगर सरकार राजनीति पूर्वाग्रहमा लागेका कारणले रास्कोटका जनताले दुःख पाउन थालेको बताउनुभयो । खुलेरै वर्तमान सरकारले अघिल्लो सरकारको भारी हामीले नबोक्ने भनेर अधुरा योजना जस्ताको तस्तै छोडेको आफूले देखेको बताउनुभयो । 

नेकपा (एमाले) का नेता दयाराम सिम्खडाले २०७४ को स्थानीय सरकारले यहाँको नागरिकको जनघनत्वलाई हेरेर यहाँ बर्थिङ सेन्टर निर्माणका लागि धेरै प्रयास गरेर २०७९ सालमा बजेट प्राप्त गरेको भए पनि उसै वर्ष निर्वाचन भएका कारणले योजनाले पूर्णता नपाएको बताउनुभयो ।