अविनाश चौधरी
धनगढी, वैशाख १८ गते । एक हप्ते भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतका अध्यात्मिक नेता महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्नुभएको छ ।
यमुना नदीको पश्चिमी किनार राजघाटमा रहेको महात्मा गान्धी समाधिस्थल पुगेर उहाँले समाधिमा माल्यार्पण गर्नुभएको हो । यस्तै, मुख्यमन्त्री नेतृत्वको टोलीले भारतका लागि नेपाली राजदूत शङ्कर शर्मासँग दूतावासमा भेटघाट गरेको छ ।
भ्रमण टोलीले पूर्व निर्धारित तालिकानुसार प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी तथा विकास सम्मेलन बारेमा भारतका उद्योगपतिसँग छलफल गरेको छ । यस्तै, स्वामी विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तर्क्रिया गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । टोलीले लोकसभा, राज्यसभा र दिल्ली मेट्रो रेलवे स्टेसनको अवलोकन गरेको छ ।
भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १२ गते भारत भ्रमणमा गएको छ । टोलीले वैशाख २२ गतेसम्म अवलोकन भ्रमण गर्ने छ ।