• १८ वैशाख २०८२, बिहिबार

गुर्जामा सामूहिक तरकारीखेती

blog

म्याग्दी,  वैशाख १८ गते । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु गरेका हुन् । 

करिब चार रोपनी जग्गा भाडा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायत तरकारीखेती सुरु गरेका प्रगति लघुउद्यमी समूहका अध्यक्ष रेशकुमारी छन्त्यालले बताउनुभयो । “गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरिएको हो”, उहाँले भन्नुभयो, “तरकारी आयात घटाउने, स्थानीयबासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा र अर्गानिक स्वाद पस्किने उद्देश्यले सामूहिक खेती गरेका हौँ ।”

समुन्द्री सतहबाट दुई हजार ७०० मिटर उचाइमा रहेको, सडक यातायातको सुविधा नपुगेको गुर्जा म्याग्दीको दुर्गम र विकट क्षेत्रमा अवस्थित छ । उच्च पहाडी क्षेत्रमा अवस्थित गुर्जामावेष गरेर खुर्सानी आयात हुने गर्दछ । 

धवलागिरि–१ का वडाध्यक्ष झक छन्त्यालले परिक्षणका लागि गरिएको खुर्सानी खेती सफल भएपछि समूहमार्फत अन्य खेती विस्तार गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार यसअघि घुम्ती व्यापारीले बोकेर लैजाने खुर्सानीलाई प्रतिकिलो रु चार सयका दरले किन्नुपर्ने अवस्था छ । 

गुर्जाबासीले बर्खायाममा जङ्गलमा प्रशस्त मात्रामा पाइने च्याउ, ढकायोको टुसालाई तरकारीका रूपमा उपभोग गर्नुका साथै आफन्तलाई कोसेली पठाउने र बिक्रीसमेत गर्छन् । हिउँद याममा भने तरकारीको अभाव हुने भएकाले खेती गर्न थालिएको वडाध्यक्ष छन्त्यालले उल्लेख गर्नुभयो । स्थानीय जातको मुलालाई धजरा, गुन्द्रुक, च्याउको सुकुटी बनाएर हिउँदमा तरकारीको रूपमा प्रयोग गर्छन् । 

सामूहिक रूपमा तरकारीखेतीसम्बन्धी आधुनिक प्रविधी र सीप सिकाउने काम भइरहेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले बताउनुभयो । तीन वटा प्लास्टिक टनेल बनाएर टमाटरखेती र तरकारीको बिरुवा उत्पादन गरिएको उहाँले जानकारी दिनुभयो । 

किसानलाई तरकारीखेतीसम्बन्धी तालिमका साथै बीउ र टलेल खरिदमा गाउँपालिकाले सहयोग गरिरहेको प्राविधिक थापाले बताउनुभयो । यहाँ दलित र अल्पसङ्ख्यक छन्त्याल समुदायका दुई सय ५० परिवारको बसोबास छ । छन्त्याल संकृतिमा रमाउन र प्राकृतिक सौन्दर्यमा रमाउन गुर्जामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् । रासस