• १६ वैशाख २०८२, मङ्गलबार

क्षयरोगमुक्त पालिका घोषणा गर्न सुरुङ्गामा रोगीको पहिचान र उपचार सुरु

blog

क्षयरोग परीक्षण गराउन आउनु भएका सेवाग्राहीहरू । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख १६ गते ।
सप्तरीको सुरुङ्गा नगरपालिकाले क्षयरोगमुक्त पालिका घोषणा गर्ने तयारी स्वरूप रोगीको पहिचान र उपचार अभियानको सुरुवात गरेको छ ।

नगरपालिकाले मङ्गलबारदेखि निःशुल्क क्षयरोग पहिचान र उपचार गर्न ‘एकटिभ केस डिटेक्सन कार्यक्रम’ सञ्चालन गरी क्षयरोगमुक्त पालिका बनाउने तयारी स्वरूप अभियानको सुरुवात गरेको हो ।

सुरुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य अनुसार क्षयरोग भएका रोगीको पहिचान र उपचारका लागि निःशुल्क ‘एकटिभ केस डिटेक्सन कार्यक्रम’ सञ्चालन गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिनुभयो ।

उहाँले पालिकाको तीन स्थानमा सेन्टर तोकेर प्रत्येक सेन्टरमा एक दिन गरी तीन दिनसम्म रोगीहरूको पहिचान गर्ने काम थालिएको र क्षयरोगको लक्षण देखिएका रोगीलाई निःशुल्क उपचार गरेर २०८३ सम्म क्षयरोग मुक्त पालिका घोषणा गरिने बताउनुभयो ।

“क्षयरोग परीक्षण गराउनका लागि पालिकाको ११ वटै वडाका नागरिकलाई पायक पर्ने गरी तीन वटा सेन्टर तोकिएको छ । त्यहाँ हुने परीक्षणबाट क्षयरोग देखापरेको व्यक्तिलाई ६ महिनासम्म औषधी खुवाएर निको पारी अनि क्षयरोग मुक्त पालिका घोषणा गर्ने छौं” नगर प्रमुख चौधरीले भन्नुभयो ।

गाउँघरका सेवाग्राहीमा क्षयरोग देखियो भने के हुन्छ ? गाउँ समाजले अपहेलित गर्छ कि ? बरु रोग नै पचाएर जाँउ भन्ने घारणा भएका कारण केही व्यक्तिले जाँच गराउन डराएको भन्नुहुँदै उहाँले पालिकाको सबै नागरिकलाई जाँच गराएर सुरुङ्गा नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्नमा सहयोग गर्न अपिल गर्नुभयो ।

क्षयरोग निवारण केन्द्र भक्तपुर र मधेश प्रदेश सरकार समेतको प्राविधिक सहयोगमा सुरुङ्गा नगरपालिकाको आयोजनामा मङ्गलबार वडा नम्बर २ स्थित जनता मावि भेडिया, बुधबार वडा नम्बर ५ स्थित मसिलाल जनता मावि कुशहा र बिहीबार वडा नम्बर ८ स्थित घाँती बजारमा गरी तीन वटा सेन्टरमा ‘एकटिभ केस डिटेक्सन कार्यक्रम’ सञ्चालन हुने सुरुङ्गा नगरपालिकाले जनाएको छ ।