• १६ वैशाख २०८२, मङ्गलबार

कृषकलाई कृषि तालिम

blog

सुनसरीको गढी गाउँपालिका ५ नम्बर वडा सतैरझोराका अगुवा कृषकहरूका लागि आयोजित कृषि तालिममा सहभागीहरू । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख १६ गते । सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका अगुवा कृषकहरूका लागि कृषि तालिम सम्पन्न भएको छ । पशुपालन, तरकारी, खाद्यान बाली, दलहन र देलहनबाली सम्बन्धी गढी ५ का स्थानीय अगुवा कृषकहरूलाई कृषि सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । 

वडाका ५० जना स्थानीय अगुवा कृषकहरूलाई अर्गानिक खेती, वातावरण मैत्री कृषिका लागि तीन दिने तालिम दिइएको हो । साझेदारी नेपाल सुनसरीको आयोजना तथा गढी ५ नम्बर वडाको सहयोगमा तालिम सम्पन्न भएको छ । गढी गाउँपालिका पशु विकास अधिकृत ब्रहमदेव यादवका अनुसार जिविकोपार्जनमा सहज र कृषिलाई व्यवसायमुखि बनाउनका लागि तालिम प्रदान गरिएको हो ।

तालिममा मकैं, धान तथा गहुँको सिजन अनुसारको अर्गानिक मलको प्रयोग र बनाउने तरिका, कृषि तथा पशु बिमा समेतको बारेमा जानकारी गराएको वडाध्यक्ष चन्द्रकुमार सरदारले जानकारी दिनुभयो । 

पछिल्लाे समय बाली उत्पादनको नाममा बढ्दो रासायनिक विषादीको चरम प्रयोगले वातावरणको नास हुनुका साथै जमिनलाई प्रत्यक्ष रूपमा असर भई क्षती पुर्‍याई रहेको प्रशिक्षक भुवनेश्वर यादवले कृषकहरूलाई तालिममा जानकारी गराउनुभयो । कृषकहरूले कम समयमा धेरै उत्पादन र छिटो उत्पादनको हुटहुटीले प्रयोग गर्ने विभिन्न विषादीले जमिनलाई प्रत्यक्ष क्षति पुगिरहेको हुँदा यसको न्युनीकरणमा सहयोग पुग्ने मुख्य उद्देश्यले समेत तालिम प्रदान गरिएको यादवले जानकारी दिनुभएको छ । कृषकहरूले जमिनलाई कम क्षति गरी बाली उत्पादन गरे प्रकृति र वातावराणमा असर नपर्ने भन्दै यसबारे तालिममा सचेत गराइएको छ ।

वाली उत्पादनको क्रममा सामान्य रोगकै कारण विषादी प्रयोग गरिहाल्नु नपर्ने सुझाइएको छ । सकेसम्म विषादीको प्रयोग नै नगर्ने यदि गर्नै परे पनि अन्तिम विकल्पको रूपमा कम विशाक्त भएको विषादीको प्रयोग गर्नुपर्ने प्रशिक्षकहरूले प्रशिक्षणका क्रममा जानकारी दिनुभयो । कृषकहरूले बढी उत्पादन गर्ने कृषकहरूको चाहानामा विषादी प्रयोगले जमिनलाई क्षति पुग्ने तालिममा बुझाइएको थियो । बालीहरूमा रुैथाने बाली साथै जैविक विषादीको प्रयोग गर्नुपर्ने कुरामा जोड दिएका छन् । 

स्थानीय विषादी बनाएर बालीमा प्रयोग गरे मानव स्वास्थ्य साथै वातावरण मैत्री रूपमा बाली उत्पादन हुने जनाइएको छ । अबका दिनमा कृषकहरूले जलवायु मैत्रि प्रविधि अपनाएर स्थानीय तथा रैथाने बालीको उत्पादनमा नयाँ प्रविधि र नयाँ ढङ्गले सुरुवात गर्नुपर्ने आवश्यक रहेको समेत जानकारी दिएको थियो ।

बालीको सामान्य असरमै कृषकहरूले रासायनिक प्रयोग गरिहाल्ने हुँदा जमिन क्षतिसँगै प्राकृतिक तथा मानव स्वास्थमा असर गम्भीर असर पार्ने भएकाले बालीमा कृषकहरूले स्थानीय स्तरमै पाइने जडिबुटी झारपात, गोबर, गहुँत लगायतको मिक्षणबाट जैविक विषादी निर्माण गरी प्रयोगमा ल्याई बाली तथा जमिन सुधार गर्नुपर्ने तालिममा जानकारी गराइएको थियो । तालिमलाई हरिनगर कृषि शाखाका प्राविधिक तथा प्रशिक्षक भेवनेश्वर यादव, पूर्व कृषि अधिकृतहरू सहजीकरण गर्नुभयो ।

तालिममा गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साहले वडा नम्बर ५ सतैरझोराका अगुवा कृषकहरूका लागि कृषि तालिम एकदमै उपयोगी भएको बताउनुभयो । कृषकहरूले समेत पहिलो पटक यती राम्रो स्तरीय कृषि तालिम पाएको भन्दै आफूहरूलाई निर्वाहमुखीबाट व्यवसायमुखि खेतीमा समेत योगदान पुग्ने प्रतिक्रिया दिएका छन् ।