• २० असार २०८१, बिहिबार

दुई महिनापछि हवाई सेवा सहज

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ २५ गते । सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई महिनापछि हवाई सेवा सहज भएको छ । हुम्लाका लागि उडान भर्दै आएका निजी एयरलाइन्सहरू कर्णालीका हिमाली जिल्लामा उडान भर्नका लागि नेपालगञ्ज फर्किएपछि हवाई सेवा सहज भएको हो । 

सोमबार नेपालगञ्ज जाने तयारीमा रहनुभएका यात्रु विनोद भण्डारीले आफू तीन दिनपछि बल्ल गन्तव्यमा जान पाइएको बताउनुभयो । यात्रु बोर्डिङ पास देखाउँदै उहाँले हुम्लाका लागि उडान भर्ने सबै जहाज नेपालगञ्ज बेस गर्नेगरी फिर्ता भएपछि हवाई सेवा सहज भएको बताउनुभयो । समिट एयर हुम्लाका प्रमुख गोविन्द लामाले काठमाडौँबाट फर्किएको सो एयरलाइन्सका दुईवटा जहाजले हुम्लालगायत कर्णालीका हिमाली जिल्लामा उडान भर्न सुरु गरेको बताउनुभयो । 

यसअघि उक्त जहाज काठमाडौँ केन्द्रित हुँदा महिनामा तीनदेखि चारवटा मात्र उडान भर्ने गरेको थियो । उहाँले जहाज नेपालगञ्ज आएलगत्तै दुई उडान सिमकोटका लागि भरेको बताउनुभयो । 

नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीका अनुसार सोमबार मात्र सीता, तारा, समिट र नेपाल एयरलाइन्सले सातवटा उडान भरेका छन् । 

हवाई यातायात सहज भएसँगै सिमकोट विमानस्थलबाट भारी बोक्ने कार्य पुनः सुरु भएको छ । नेपालगञ्ज विमानस्थलले हुम्ला मात्र नभई कर्णालीका जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिमको बाजुरा जिल्लाका लागि पनि हवाई सेवा सहज भएको बताउनुभयो । 

Author

दुई महिनापछि सिमकोट विमानस्थलमा एकसाथ उडान भरेका जहाज । तस्बिर : राजन रावत