• १६ वैशाख २०८२, मङ्गलबार

महिला नेतृत्व स्वीकार्न आनाकानी

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख १६ गते ।  कैलारी गाउँपालिका–३ की शान्तिदेवी चौधरीले शिव सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व गरेको केही वर्ष बितेको छ । सुरुमा पुरुषले नेतृत्व गरेका थिए, वन लथालिङ्ग थियो । त्यसलाई सुधार्छु भनेर नेतृत्वमा आएकी चौधरीलाई काम गर्न भने सहज भएन । बडो जान्ने, बाठी, नेता जस्ता शब्द उहाँमाथि प्रहार हुन थाल्यो । “सामुदायिक वन उपभोक्ता समूहको म अध्यक्ष भएको समाजले सहजै स्वीकार्न सकेन,” विगत भोगाइ सम्झँदै अध्यक्ष चौधरी भन्नुहुन्छ, “मैले काम गरेर देखाएँ । जानुपर्ने ठाउँमा गएर बोलेँ । अहिले बल्ल सबैले सहयोग गरिरहेका छन् ।”

भजनी नगरपालिका–५ मा रहेको कुलदेव महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जलुदेवी साउद पनि त्यस्तै भोगाइको पात्र हुनुहुन्छ । अध्यक्ष बन्दा सुरु सुरुमा कतिपयले सजिलै नेतृत्व नस्विकारेको र काम गर्न अप्ठ्यारो भएको उहाँले सुनाउनुभयो । “यद्यपि बचतलगायतमा हामी महिलाले पुरुषभन्दा राम्रो काम गर्ने गर्दछौँ,” साउदले भन्नुभयो । सामुदायिक वनमा महिलालाई काम गर्न भने जस्तो सहज नरहेको कैलारी गाउँपालिका–४ मा रहेको मुक्त महिला सामुदायिक वनका अध्यक्ष अमिता चौधरीको बुझाइ छ । उहाँले सुरुमा आफ्नो नेतृत्व समाजलाई बुझाउनै गाह्रो भएको सुनाउनुभयो । चौधरीले पाँच वर्षदेखि सामुदायिक वनको अध्यक्षका रूपमा काम गरिरहनुभएको छ । बल्ल अचेल सहज रूपमा काम गर्न सकेको उहाँको भनाइ छ । 

पछिल्लो समय ऐन, कानुनले नै हरेक सामुदायिक वन उपभोक्ता समूहको कार्यसमितिमा महिला प्रतिनिधित्वलाई बढावा दिएको छ । कार्यसमितिको अध्यक्ष वा कोषाध्यक्ष पदमध्ये कम्तीमा एक पद र उपाध्यक्ष वा सचिव पदमध्ये कम्तीमा एक पदसहित कार्यसमितिमा कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने छ ।

“पहिले पहिले महिलालाई नेतृत्वमा आउनै नदिने प्रपन्च हुन्थ्यो,” आदिवासी जनजाति अधिकारका लागि वकालत गर्दै आउनुभएकी इन्दु थारूले भन्नुभयो, “अहिले नेतृत्वमा पुगेका महिलालाई मनोवैज्ञानिक ढङ्गले असहयोग गर्ने परिपाटी छ । कतिपय ठाउँमा नेतृत्वमा महिला भए पनि पुरुषको हालीमुहाली हुने गर्दछ ।” सामुदायिक वन उपभोक्ता महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष झुमा चौधरीले पनि महिलालाई नेतृत्व गर्न अझै चुनौती रहेको दाबी गर्नुभयो ।