ज्योति पन्थी
बबई (बर्दिया), असार १२ गते । मधुवन नगरपालिकाले पटकपटक म्याद थप गर्दा पनि सडक निर्माण नभएको भन्दै बर्दियाको मधुवन नगरपालिकाका स्थानीयले नगरपालिकाको कार्यालय अगाडि रहेको सडक बन्द गरेर आन्दोलन गरेका छन् ।
२०७९ सालमा सडकको दुवैतर्फ नालासहित ढक्कन राखेर ९ सय ६० मिटर लम्बाई र ११ मिटर चौडा सडक कालोपत्रे गर्न महादेव खिम्ति निर्माण सेवाले ठेक्का सम्झौता गरेको कुशुम्बा बजारदेखि प्रगतीबजार जाने सडक समयमा निर्माण सम्पन्न नगरेको भन्दै स्थानीयले बिहीबार मधुवन नगरपालिकाको कार्यालय अगाडि नै सडक बन्द गरेर प्रदर्शन गरेका हुन् ।
तीन वर्षअघि महादेव खिम्ति निर्माण सेवाले सडक निर्माण गर्नका लागी मधुवन नगरपालिकासँग सम्झौता गरेको भए पनि सडक निर्माण नगरेका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको मधुवन नगरपालिका वडा नं.८ शान्ति टोल विकास समितिका कार्यवाहक अध्यक्ष भरत सुवेदीले बताउनुभयो । मधुवन नगरपालिकाको ९ सय ६० मिटर सडक निर्माण गर्नका लागी महादेव खिम्ति निर्माण सेवाले २ करोड ६४ लाख २० हजार ६५९ रुपियाँमा सम्झौता गरेको ३ वर्ष पुरा हुँदा तेस्रो पटक समय थप भए पनि सडक निर्माण पुरा हुन सकेको छैन ।
९ सय ६० मिटर सडक निर्माण गर्न ठेक्का सम्झौता भएपनि पटकपटक आन्दोलन भएका कारण निर्माण व्यवसायीले ३ सय मिटर सडक कालोपत्रे गरेर बाकी सडकको काम नगरका कारण पटक पटक स्थानीयले सडक निर्माण गर्न माग गर्दे आन्दोलन गर्नु परेको मधुवन नगरपालिका वडा नं.६ कुशुम्बाबजारका स्थानीय दिलबहादुर रिजालले बताउनु भयो । सडक निर्माण अलपत्र पारेका कारण सडकका छेउ छाउमा भएका घरहरूमा रहेका बालबालिकाहरूलाई पनि स्वास्थ्यमा समस्या हुने गरेको मधुवन नगरपालिका वडा नं.८ कुशुम्बा बजारका स्थानीय रिसी काफ्लेले बताउनुभयो ।
तिन वर्षसम्म नगरपालिकाको कार्यालय जाने सडकनै निर्माण हुन नसकेपछि मधुवन नगरपालिकाका स्थानीय पटक पटक आन्दोलन गर्दे आइरहेका छन् । मधुवन नगरपालिकाले सडक निर्माणको रकम सुनिश्चित गरेर पटक पटक महादेव खिम्ति निर्माण सेवालाई सडक निर्माणका लागी पत्राचार गरेको भए पनि उक्त सडक निर्माण गर्न निर्माण व्यवसायीले तदारुकता नदेखाएको मधुवन नगरपालिकाका इन्जिनियर सौरभ रेग्मीले बताउनुभयो ।
मधुवन नगरपालिकाको मुख्य बजार क्षेत्र अन्तर्गत पर्ने कुशुम्बा बजारदेखि प्रगति बजार जाने सडक निर्माण सुरु भएको तिन वर्ष पूरा हुँदा पनि निर्माण पूरा नहुँदा पटकपटक स्थानीयहरूले आन्दोलन गर्दे आएका छन् ।