तिलाचन पाण्डे
तम्घास, वैशाख १४ गते । गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबारदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिँदै विद्यालय सञ्चालन नगरे राजीनामा दिन वा सरुवाको प्रक्रिया अगाडि बढाई जानका लागि निर्देशन दिनुभएको थियो । सोही निर्देशन अनुसार आइतबारबाट विद्यालयहरु सञ्चालनमा आएको शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले जानकारी दिनुभयो । विद्यालयहरु सञ्चालनमा आए नआएको बारेमा पालिका भित्र आफूहरुले अनुगमन गरेको र विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेको उहाँको भनाइ छ ।
केही शिक्षकहरु आन्दोलनमा रहेकाले आउने क्रम जारी रहेको र यहाँ भएका शिक्षकहरुले विद्यालय सञ्चालन गर्दै भर्ना अभियान अगाडि बढाएको पराजुलीले बताउनुभयो । आइतबारबाट विद्यालय सञ्चालनमा ल्याई पाठ्यपुस्तक वितरण गरेको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश न्यौपानेले जानकारी दिनुभयो ।
आन्दोलनका कारण नयाँ शैक्षिक सत्रमा भर्ना अभियानमा असर पर्नुका साथै नियमित पठनपाठन गराउने कार्यमा सहयोग गर्न थापाले शिक्षकहरुलाई आग्रहसमेत गर्नुभएको छ । आन्दोलनका कारण ग्रामीणस्तरका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुने र शिक्षकहरुको आन्दोलनका कारण निजीमा जाने भएकाले विद्यालय बन्द हुने अवस्था आउने उहाँले बताउनुभएको थियो ।
गाउँपालिकाभित्र सामुदायिक र संस्थागत गरी ४५ विद्यालय रहेका छन् भने करिब तीन हजार विद्यार्थी संख्या रहेको शिक्षा शाखाले जनाएको छ । यता शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेस्वर घिमिरेका अनुसार शिशक्षकहरुको आन्दोलका कारण नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान नै प्रभावित भएको उहाँको भनाइ छ ।
गुल्मीमा सामुदायीक र संस्थागत गरी ५९० विद्यालय र ५६ हजार २०३ विद्यार्थी सङख्या रहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखी कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी तीन हजार १५३ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।