जनार्जन खत्री
सर्लाही, वैशाख १४ गते । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा आइतबार एक महिलाको आफ्नै जेठाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिका–३, मधुवनगोठका ४० वर्षीय साहेब पासवानले बुहारी ३६ वर्षीया रेनुदेवी पासवानको हत्या गरेका हुन् ।
साहेबले आइतबार बिहान पौने १० बजे बुहारी रेनुदेवीलाई धारिलो हतियार (फर्सा) प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार साहेबले बुहारी रेनुदेवीलाई शरीरका विभिन्न भागमा १५ पटक भन्दा बढी फर्साले प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानमा जेठाजु साहेब पासवानले आइतबार बिहान बुहारी रेनुदेवीसँग खाना मागेको र सोही समयमा विवाद भएपछि एक्कासी फर्सा निकालेर प्रहार गरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिनुुभयो ।
शनिबार झैँ–झगडा भएपछि साहेबकी श्रीमती र छोराछोरी भारतस्थित माइती घर गएको बुुझिएको छ । शनिबारदेखि नै भोको रहेका साहेबले आइतबार बिहान खाना माग्न जाँदा विवाद भएपछि बुहारीमाथि नै धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरीले साहेब पासवानलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मधुवनगोठले तत्कालै नियन्त्रणमा लिएको साहेबलाई थप अनुसन्धान तथा कारबाहीका लागि सदरमुकाम मलङ्गवा ल्याइएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
मृतक रेनुदेवीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । रेनुदेवीका श्रीमान गजेन्द्र पासवान मजदुरीका लागि भारतमा रहेका छन् ।