• १३ वैशाख २०८२, शनिबार

साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति

blog

आगलागीबाट जलेर नष्ट भएका साँफेबगर हाटबजारको दृष्य । तस्बिर : शिवराज ढुङ्गाना

शिवराज ढुङ्गाना
अछाम, वैशाख १३ गते ।
साँफेबगर नगरपालिका–३ को हाटबजारमा शनिबार बिहान भएको आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति भएको छ । आगलागी नियन्त्रणपछि अछाम प्रहरीले सङ्कलन गरेको क्षतिको विवरण अनुसार १० पसल जलेर तीन करोड ८६ लाख ६५ हजार रकम बराबरको क्षति मूल्याङ्कन गरिएको हो । 

शुभेच्छा मःम सेन्टरमा बिजुली सर्ट भएर करिब ३ बजेर ४५ मिनेटमा भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीयवासीले ६ बजेर ५ बजे नियन्त्रणमा लिइएका थिए । जिल्लामा वारुणयन्त्र नहुँदा आगलागी नियन्त्रणमा सकस भएको बताइएको छ । 

आगलागीमा परेर चौरपाटी गाउँपालिका ५ घर भई हाल साफेबगर नगरपालिका ३ बस्ने २५ वर्षीय प्रेम खड्काको सुभेच्छा मःम सेन्टर,  साँफेबगर नगरपालि ३ क गङ्गबहादुर कुँवरको काल भैरव जनरल स्टोर, सोही ठाउँका मकर कुँवरको रिभरसाइड नास्ता पसल जलेर पूर्णरूपमा क्षति भएको छ ।

यस्तै सोही ठाउँका टीका कुँवरको ब्युटी पार्लर, ज्ञानेन्द्र कुँवरको डाक मोबाइल ग्यालरी, दीपक सुनारको कालभैरव सुन चाँदी पसल (सुनचाँदी बाहिर निकालिएको) मात्र जलेर नष्ट भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । भीम कुँवरको रोडसाईड रेस्टुरेन्ट, सुमन कुँवरको इ.भी. गाडी काउन्टर र पसल, किशोर भाटको नास्ता पसल र सुरेश कुँवरको शीतल होटेल एन्ड गेस्ट हाउस जलेर नष्ट भएको हो । 

साँफेबगरमा भएको आगलागीको बारेमा निर्णय लिनका लागि साँफेबगर नगरपालिकाको विपत व्यवस्थापनको बैठक बसिरहेको छ । बैठकमा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्व समितिका प्रमुख ललितबहादुर कुँवर, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर, अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारी लगायत रहनुभएको छ । अघिल्लो महिना चैत अन्तिमतिर अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा २३ घरमा आगलागी भएर नष्ट भएका थिए ।