• १३ वैशाख २०८२, शनिबार

हृदयचन्द्रको ‘कलाको मूल्य’

blog

हृदयचन्द्रसिंह प्रधान (१९७२–२०१६) ले साहित्यका प्रमुख सबै विधा आख्यान, (कथा, उपन्यास) कविता, नाटक, (एकाङ्की एवं पूर्णाङ्की, निबन्ध–समालोचना, भाषा–व्याकरण मा कलम चलाएका छन् । काठमाडौँको मरुटोलका रैथाने प्रधान बहुमुखी प्रतिभासम्पन्न उच्च मानवतावादी जनपक्षीय साहित्यकार हुन् । 

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा सुब्बा ऋद्धिबहादुर मल्लको विशिष्ट स्थान छ । नेपाली छापाखाना क्षेत्रमा समेत अग्रणी उद्योगपति यिनले काठमाडौँको पाको पोखल्ड्याङमा उतिबेलाकै समयमा जोरगणेश प्रेस स्थापना गरेका थिए । उनमा साहित्यका विषयमा उच्च प्रकारको अनुराग थियो । त्यही अनुरागका कारण उनलाई विश्व साहित्यका विशिष्ट कृतिको अध्ययन र रसपान गर्ने ज्ञानको भोक जागेको थियो । उनले विश्व साहित्यका विशिष्ट कृतिको अध्ययन गरेका थिए । आफूले अध्ययन गरेका सुन्दर कृतिहरूलाई अनुवाद गरी नेपाली साहित्यका पाठकसामु राखिदएका थिए । आफ्नो हैसियत अनुसारको क्षमता प्रयोग गरी उनले १९९१ सालमा आफ्नै सम्पादनमा ‘शारदा’ साहित्यिक मासिक पत्रिकाको प्रकाशन सुरु गरेका थिए । 

हृदयचन्द्रसिंह प्रधानको न्वारनको नाम चन्द्रप्रसाद प्रधान थियो । उनले लेखकका रूपमा अगाडि आउनका लागि उनका पिताको अनुमति लिएर हृदयचन्द्रसिंह नाम रोजे । भर्खरै किशोरावस्था पार गर्न लागेका हृदयचन्द्रसिंह प्रधानको आन्तरिक मनमा ‘शारदा’ को प्रकाशनले आफू साहित्यकार बन्ने हुटहुटी जगाइदिएको थियो । सानै हुँदादेखि नै बाहिरफेर साथीभाइबिच हल्काफुल्का रमाइलो गर्ने, हँसीमजाक र खेलबाड अनि खानपिनमा बढी नै ध्यान दिने तर पढाइमा खासै चासो नराख्ने हृदयचन्द्रसिंहमा पछि गएर पढाइप्रति लगाव बढ्न गयो । 

उनी सानैदेखि दमका रोगी थिए । त्यसो भएको हुनाले पनि सुरुमा पढाइमा अपेक्षाकृत रूपमा उनको प्रगति हुन सकेको थिएन । दमको बिमार कम भएपछि पुनः उनलाई सुकेनासले समातेको थियो । औषधोपचारबाट रोगलाई नियन्त्रण गरेपछि उनले पढाइमा खुबै दिल लगाए र लेखक बन्ने पनि दृढ प्रतिज्ञा गरे । १९९१ साल फागुनमा पहिलो अङ्क प्रकाशित भएको ‘शारदा’ का उनी नियमित पाठक थिए । उनले सुरुमा ‘मातृस्नेह’ शीर्षकमा एउटा निबन्ध लेखे र ‘शारदा’ मा प्रकाशनार्थ पठाए । १९९२ सालमा उनको पहिलो निबन्ध कृति ‘शारदा’ मा प्रकाशित भयो । त्यही कृति नै उनको लेखकीय जीवनको पहिलो पाइलो थियो । 

हृदयचन्द्रसिंह प्रधानले साहित्यका सबै विषयमा कलम चलाएको देखिन्छ । विधागत रूपमा तिनलाई प्रस्तुत गर्दा यसरी व्रmम निर्धारण गर्न सकिन्छ । 

निबन्ध: भूस्वर्ग (२००३), जुँगा (२००९), कुरा साँचो हो (२०११) र अफसोस (२०२१) ।

उपन्यास : स्वास्नी मान्छे (२०११) र एक चिहान (२०१७) ।

कथा : उसको आँसु (२०१२) र हृदयचन्द्रसिंहका कथाहरू

नाटक/एकाङ्की : छेउ लागेर (२००१), गंगालालको चिता (२०११), उनी देवता हुन् (२०१५) र कीर्तिपुरको युद्धमा ।

समालोचना ः केही नेपाली नाटक (२००२),साहित्य : एक दृष्टिकोण (२००४), भानुभक्त : एक समीक्षा (२००४), नेपाली काव्य र उसका प्रतिनिधि कवि (२०२१), 

अन्य : क) शिशु शिक्षण कला : चिन्ह परिचय (व्याकरण २०००), ख) शब्द शुद्धि विज्ञान (व्याकरण २००४), शब्द शुद्धिया ताचा (व्याकरण : नेपाल भाषामा), ऐसा मै सोचता हुँ । (लेखसङ्ग्रह ः हिन्दीमा)

सम्पादन : साहित्यस्रोत (साहित्यिक पत्रिका २००४), जागरण (साप्ताहिक पत्रिका २००७), जनचेतना (पाक्षिक २०१३) र नेपाल (नेवारी द्वैमासिक साहित्यिक) 

हृदयचन्द्रसिंह प्रधानको पहिलो कथा ‘विदूषी माधवी’ (१९९३) मा ‘शारदा’ मा प्रकाशित भएको थियो । त्यसपछि लगभग १० वर्षसम्म उनका अरू कथा देखा परेनन् । तथापि खराब स्वास्थ्यका बाबजुद उनले लेखनकार्यलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि जारी राखे । व्याकरणका पुस्तकसमेत लेखेका हुनाले उनलाई सरकारले त्यसको पुरस्कारस्वरूप दरबार स्कुलमा अध्यापन कार्य गर्ने र नेपाली भाषा प्रकाशिनी समितिमा लेखकका रूपमा समेत मौलिक पुस्तक लेख्ने काम गर्ने अवसर दियो । 

उनको चर्चित कथा ‘कलाको मूल्य’ बारे यहाँ केही चर्चा गरौँ । उनका प्रायः सबै कथा सरल किसिमका छन् । तिनमा हामी दयालु भाव, भावुक चेतना, बौद्धिक व्यक्तिको चित्रण, गरिब निमुखा नरनारीप्रति सहानुभूति र समताभावको प्रादुर्भाव पाउँछौँ । उनका कथाका विषयवस्तु पनि समाजको यथार्थ धरातलबाट टिपिएका हुन्छन् । 

विवेच्य कथा ‘कलाको मूल्य’ मा एक जना कला उपासकको पूरा हुन नसकेको चाहना उसका सन्ततिले थाहा पाएपछि त्यसलाई पूरा गर्न दृढप्रतिज्ञ छोराको पौरख र प्राप्तिपछि घटेको दुर्घटनालाई उद्घाटन गरिएको छ । श्रमजीवी वर्गको एक कलाप्रेमी पुरुष नरदेवीको तेलिया इँटाले बनेको घरका ‘सञ्झ्याल’ देखेपछि साह्रै मन्त्रमुग्ध हुन्छ । आर्थिक अवस्था ठिक नभएका घरपतिले सकेसम्म घरै बेच्ने र त्यो नभए झ्याल मात्रै भए पनि बेचेर काम चलाउने खबर सुनेपछि झ्यालका लागि तोकिएको मूल्य रु. एक हजार कमाउन कला उपासक निकै परिश्रम गर्छ । दैनिक रासनपानीका लागि लाग्ने खर्चमा समेत कटौती गरी जेनतेन सात सय रुपियाँ जम्मा गरेको उसको स्वास्थ्य बिग्रँदै जान्छ र केही समयपछि ऊ क्षयरोगको सिकार हुन्छ । झ्याल किन्ने ध्येयका साथ जम्मा गरेको दाम उपचारमा खर्च गरेर सकिन्छ । जीवनको गल्दो अवस्था देखेर उसकी गर्भवती पत्नीसित छोरा भए कलाधर र छोरी भए कलावती नाम राख्न उसको अवसान हुनुभन्दा पहिले नै उसले आफ्नो इच्छा जाहेर गर्छ । उसको त्यही चाहना अनुुरूप यशोदाले पनि छोराको नाम कलाधर राख्छिन् । 

छोरो जान्नेबुझ्ने भएपछि उसको नाम अरू कुनै नराखेर किन कलाधर नै राख्नु परेको हो भन्ने कुरा ऊ जान्न चाहन्छ । त्यसपछि जिज्ञासु छोराको जिज्ञासा शान्त पार्न उनले यथार्थ कुरा उद्घाटन गर्छिन् । 

कलाधर सानैदेखि सुशील, कवि हृदयको प्रतिभाशाली कलाप्रेमी भएर निस्कन्छ । त्यो प्रतिभाशाली युवकको प्रतिभालाई कदर गर्दै पिताका इष्ट महाजनले बाबुको अवसानपछि उसलाई मुनिमको जागिर दिन्छन् । यसरी सहजै जागिर पाएको कलाधर उसको लगनशीलता र कलाप्रेमी लगावकै कारण ऊ सबैको प्यारो हुन पुग्छ । खासमा साहित्य, कलाप्रति अनुराग भएकी महाजनकी १६ बर्से सुन्दरी किशोरी छोरी उसकी प्रशंसक बन्न पुग्छे र उसको आन्तरिक समस्या थाहा पाएपछि उसलाई आवश्यक पर्ने रकम उपलब्ध गराउँछे । त्यही रकम उपहार पाएपछि त्यसको सदुपयोग गरेर कलाधरले झ्याल खरिद गरेर ल्याउँछ र जागिरमा जान ढिलो हुने भएपछि झ्याल पछाडिको कौसीमा थन्क्याएर ऊ काममा जान्छ । 

शिवरात्रिको दिन थियो त्यो । शिवधुनी जगाउन दाउराको जोहो गर्दै हिँडेका भुराहरूले कौसीमा झ्याल देखेपछि त्यसलाई पनि चोरेर लान्छन् र धुनीको रासमा हाल्छन् । साँझ कामबाट फर्केको कलाधरको मनमा घर पुग्नेबित्तिकै एक पटक झ्याल हेर्ने उत्सुकता पलाउँछ र ऊ कौसीतिर जान्छ । बिहान राखेको ठाउँमा झ्याल नदेखेपछि घरमा खैलाबैला मच्चिन्छ र दुवै आमाछोरा धुनी लगाएतिर दौडन्छन् । झ्याल भने लगभग आधा जसो डढिसकेको हुन्छ र त्यसलाई तान्न धुनीतिर लम्केको कलाधर आगोको लप्कामा पर्छ र त्यही कारणले ऊ मर्छ । यसरी एउटा हृदयविदारक घटनासँगै कथा टुङ्गिन्छ । 

हृदयचन्द्रसिंह प्रधान खासमा एक जना सफल निबन्धकार थिए तर उनको प्रतिभा त्यत्तिमा मात्र सीमित थिएन । उनी कवि, कथाकार, उपन्यासकार, नाटककार, समालोचक, भाषासेवी वैयाकरणविद् एवं चिन्तकसमेत थिए । त्यस्ता बहुप्रतिभाशाली लेखकले राम्ररी उपचार नपाएकै कारणले लगभग साढे चार दशकको अल्पायुमा यस दुनियाँबाट बिदा लिनु प¥यो । संसारका अरू पनि कतिपय लेखकको अवसान यसरी नै अल्पायुमा भएको देखिन्छ । रसियाली लेखक अलेक्ज्यान्डर पुस्किन, निकोलाई गोगोल, चेखभ, फ्रान्सेली लेखक मोपासाँ, अङ्ग्रेज लेखक सेक्सपियर, हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा यी सबै अल्पायुमा अवसान भएका उच्चकोटिका केही महान् प्रतिभा हुन् । हृदयचन्द्रसिंहको कथा ‘कलाको मूल्य’ को सङ्क्षिप्त समीक्षाको सन्दर्भमा ती महान् प्रतिभालाई स्मरण गर्ने संयोग मिलेकामा मलाई समेत प्रसन्नताको अनुभूति भएको छ ।