मुगु समाचारदाता
मुगु, वैशाख १३ गते । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–२, को ससुरालीडाँडामा पर्यटकीय स्थल बनाउन वातावरणीय अध्ययन नै नगरी जथाभाबी खनिँदा जोखिम बढेको छ । सो डाँडामा पर्यटकीय स्थल बनाउन फिल्ड विस्तार गर्दा खनिएको माटो र ढुङ्गाको सुरक्षित व्यवस्थापन नहुँदा मानिसलाई आवागमनका साथै वस्तुभाउको चरिचरनमा जोखिम बढेको हो ।
जिल्ला सदरमुकाम गमगढी बजारको ससुरालीडाँडामा कर्णाली प्रदेशको लगानी र डिभिजन वन कार्यालय मुगुको प्राविधिक अनुगमनमा एक्साभेटरले फिल्ड निर्माण गर्न लागिएको छ । गाईभैँसी चर्ने क्षेत्रमा फिल्डको ढुङ्गामाटो फालिँदा सर्वसाधारण तथा वस्तुभाउलाई लाग्ने जोखिम बढेको स्थानीय नरबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक्साभेटरले जथाभाबी फिल्ड खन्दा गएको सोमबार जिल्ला अस्पताल मुगुको पानीको पाइप फुटेपछि अस्पतालका सेवाग्राहीले सास्ती खेप्नु परेको थियो । यसले अरू जोखिम पनि बढाएको छ ।”
वातावरणीय अध्ययन नगरी जथाभाबी खन्ने प्रवृत्ति न्यूनीकरण गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय समाजसेवी बरमबहादुर रोकायाले बताउनुभयो ।
यता डिभिजन वन कार्यालय मुगुका कार्यालय अधिकृत ललितकुमार कर्णका अनुसार कर्णाली प्रदेशको आर्थिक सहयोगमा जिल्ला सदरमुकामको ससुरालीडाँडामा पर्यटकीय स्थल निर्माण र शिव तथा बुद्धका मूर्ति राख्न ६० लाख रुपियाँको टेन्डर आह्वान गरिएको छ । घटिघटाउमा अहिले जिल्लाकै बिजुली निर्माण सेवाका सञ्चालक टेकबहादुर शाहीसँग २७ लाख रुपियाँमा चालु आर्थिक वर्षभित्र काम सम्पन्न हुने गरी सम्झौता भएको छ । उहाँले भन्नुभयो, “सानो बजेट भएकाले वातावरणीय अध्यन नगरिएको हो ।”