खेमराज सापकोटा/निशा राई/जयकृष्ण यादव
विराटनगर, जेठ २३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा ऐन र निजामती सेवा ऐन जारी हुने बताउनुभएको थियो । कोशी प्रदेशमा रहेका समाचार संस्थाहरूका अनुगमका लागि विराटनगर विमानस्थलस्थित संञ्चारकर्मीहरुको प्रश्नमा यही अधिवेशनबाट यी दुई ऐन आउने दाबी गर्नुभएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वायत्त निकाय भएको बताउँदै मन्त्री गुरुङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहितलाई मुद्दा दर्ता गरेको विषयमा अख्तियारको नियमित काम भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अख्तियार सरकारको समेत निगरानी गर्ने निकाय हो ।’
गृहमन्त्री रमेश लेखकमाथि विपक्षीहरूले राजनीतिक प्रतिसोध साँधेको बताउँदै उहाँले राजीनामा दिनु नपर्ने बताउनुभएका मन्त्री गुरुङले संसद् अवरुद्ध चाँडै खुल्ने बताउनुभएको हो ।
यसैबिच मन्त्री गुरुङले धरान उपमहानगरमा रहेको रेडियो नेपालको भवन र जग्गाको अनुगमन गर्नुभएको छ । शुक्रवार धरान–८ स्थित औद्योगिक क्षेत्र छेउमा रहेको रेडियो नेपालको जीर्ण अवस्थामा रहेको भवन र १८ बिघा जग्गाको अनुगमन गर्दै उहाँले यसको संरक्षण गर्न र धरानबाट सबै नसार्न आग्रह गर्नुभयो । उक्त समयमा धरानमा बन्दै गरेको स्मार्ट बसपार्कको पनि अवलोकन गर्नुभएको थियो ।
धरानमा २०४६ साल देखि सञ्चालनमा रहेको रेडियो नेपालको यस भवनमा १ सय मेगावाटको पूर्वाञ्चल भरिको लागि टावर राखी रेडियो सञ्चालन गर्दै आए पनि विराटनगरमा अफिस सारेपछि यहाँ रहेको सामाग्रीहरू सबै बन्द गरिएको रेडियो नेपालको केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले बताउनुभयो ।
हाल डिजिटल प्रविधिले गर्दा पुरानै सिस्टममा चलाउँदा महिनाको ८ देखि १० लाख सम्म बिजुलीको बिल तिर्न पर्ने भएकोले खर्च धान्न नै धौधौ परेकोले अब यस भवनमा एफएम चलाउनको लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो ।
उक्त अनुगमनको क्रममा सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन जीर्ण भई बर्खाको बेला पानी चुहिने भएकोले तत्काल मर्मत गर्न पर्ने भएकोले अस्थायी रूपमा कार्यालय सार्नु पर्ने भएकोले धरानका जनप्रतिनिधि साथै राजनीतिक दलहरूले भाडामा भए पनि रेडियोको उक्त खालि जग्गामा अस्थायी रूपमा सार्न दिन सञ्चार मन्त्री गुरुङ समक्ष माग गरेका छन् ।
ट्राफिक प्रहरी कार्यालयलाई त्यहाँ बस्न दिँदा उक्त जीर्ण भवनको रेखदेख पनि हुने साथै त्यस ठाउँमा लागु औषध सेवन गर्नेको थलो भएकोले ठाउँ सुरक्षित पनि हुने पूर्व वाणिज्य मन्त्री तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जग्गा दिन राम्रो हो, यसको लागि बोर्डको बैठकमा कुरा राख्ने, मिले सम्म राख्न दिन्छौ, सरकारी जग्गा हो सरकारी भवनकै लागि दिँदा भाडा पनि नलिने रेडियो नेपालको अध्यक्ष विष्टले बताउनुभयो । धरानबाट अब केही पनि नसार्ने मिले सम्म यो रेडियो नेपालको भवनमा एफएम राखेर भए पनि सञ्चालनमा ल्याउने कोसिस गरिरहेको उहाँले बताउनुभयो ।
अनुगमन कार्यक्रममा मन्त्रालयको सचिव राधिका अर्याल, धरान उपमहानगरको निवर्तमान नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, कोशी प्रदेशको सांसद यशोदा कायस्थ, काँग्रेसको धरान सभापति श्याम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
यसै गरी सञ्चार मन्त्री गुरुङले शुक्रवार नेपाल टेलिभिजन इटहरी च्यानल कार्यालयको निरीक्षण गर्नुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी इटहरी च्यानलमा निरीक्षण पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभयो ।
सार्वजनिक सेवा प्रसारण अन्तरगत रेडियो नेपाल र एनटिभी च्यानलको अनुगमन तथा निरीक्षण पछि आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले जनताको पक्षमा समाचार र सूचना दिनुपर्ने बताउनुभयो । उहाँले नागरिकको जनहितमा सार्वजनिक सेवा प्रसारण अन्तरगत रेडियो नेपाल र एनटिभी च्यानलले काम गर्नुपर्ने बताउनुभयो । आफूले मन्त्री भएपछि यथार्थ अवस्था थाहा पाउनका सार्वजनिक सेवा प्रसारण अन्तरगत रेडियो नेपाल धरान र एनटिभी च्यानलको प्रत्यक्ष रूपमा अवलोकन तथा निरीक्षण गरेको बताउनुभयो ।
डिजिटलमा सबैभन्दा बढी हेर्ने टेलिभिजन बनाउन जरुरी रहेको सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले च्यानल तथा कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले आफूहरूको प्रयासमा विश्वका ११० वटा देशमा एचडी प्रसारण सामग्री हेर्न सक्ने बनाएको बताउनुभयो ।
मन्त्री गुरुङले एनटिभी इटहरीको प्रसारण कक्ष, उत्पादन तथा समाचार प्रसारण कक्ष सहितको निरीक्षण गर्नुभयो । मन्त्री गुरुङसहित मन्त्रालयका सचिव राधिका अर्याल, सार्वजनिक सेवा प्रसारण नेपाल र एनटिभी इटहरी च्यानलका अधिकारीहरू रहनुभएको थियो । कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबिच सञ्चार मन्त्री गुरुङले विराटनगरस्थित तारणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम र राष्ट्रिय समाचार समितिको प्रादेशिक भवनको समेत निरीक्षण गर्नुभएको छ ।