• १२ वैशाख २०८२, शुक्रबार

शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभाको पहिलो बैठक

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख १२ गते । राष्ट्रियसभाको १८ औं अधिवशेनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाउनुभयो ।

लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिनुभएका ज्ञात/अज्ञात शहीदप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गर्नुभयो । साथै बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गर्‍यो । 

बैठकले दिवङ्गत बोहराप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । दिवङ्गत बोहराप्रति सभाका सदस्यहरूले १ मिनेट उठेर मौन धारण गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक वैशाख १४ गते आइतबार बस्ने गरी अध्यक्ष दाहालले शुक्रबारको बैठक स्थगित भएको घोषणा गर्नुभयो ।